राष्ट्रपतिका लागि कांग्रेसले कस्तो रणनीति अपनाएको देखिन्छ ?
पार्टी सभापति शेरबहादुर देउवाले यसपटक सरकार गठनमा कांग्रेस असफल बन्यो भन्ने आरोप लाग्दै आएकामा त्यसलाई ‘करेक्सन’ गर्न खोजेजस्तो देखिन्छ । उहाँले राष्ट्रपति निर्वाचनसँगै पुरानै गठबन्धन ब्युँताएर सकारात्मक सन्देश दिन चाहेको देखिन्छ । राष्ट्रपतिमा निश्चित पात्रलाई अगाडि सारिसकिएको अवस्था छैन । तर, कांग्रेसले उठाउने उम्मेदवारका नाममा सहयोगको प्रस्ताव भने गरिएको अवस्था छ ।
नेतृत्वले पार्टीभित्रको विरोध रोक्न र परिणाम ल्याउन कस्तो शैली अपनाएको छ ?
पार्टीका पदाधिकारी र वरिष्ठ नेतासमेतलाई छलफल र निर्णयमा सहभागी गराएर संस्थागत रूपमा कांग्रेस एक भएको सन्देश दिन खोजिएको जस्तो देखिन्छ । नेतृत्व पार्टीभित्र संस्थागत रूपमै छलफल र निर्णयका लागि अघि बढेको देखिन्छ । अघिल्लो गल्ती नदोहोरियोस् भनेर समग्रमा कांग्रेस सचेत रूपमा अगाडि बढेको छ । इतर समूहका महामन्त्री गगन थापालाई अगाडि सार्नुले सरकार गठनको समयमा आफूनिकटलाई अघि सार्दा चुकेको विषयलाई नेतृत्वले मनन गरेर कोर्स करेक्सन गर्न खोजेको जस्तो देखिन्छ ।
कांग्रेस नेतृत्वको यस्तो रणनीतिको परिणाम कस्तो देखिएको छ ?
यसले कांग्रेसमा साझा र समान धारणा बनेको देखिन्छ । यसबाट कांग्रेसमा राष्ट्रपतिको विषयलाई लिएर असन्तुष्टि देखिएको छैन । नेताहरूले पछिल्लो समय दिएका अभिव्यक्तिले पनि यसलाई पुष्टि गर्छ । यसले कांग्रेसमा उत्साह थपेको छ । कांग्रेसका लागि यो सकारात्मक ऊर्जा हो ।