प्रतिष्ठानले स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गर्न सघाउने राष्ट्रपतिको विश्वास

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले संविधानले व्यवस्था गरेको नागरिकहरूको मौलिक हकअन्तर्गतको गुणस्तरिय स्वास्थ्य सेवाको प्राप्तीमा सघाउ पुर्याउने विश्वास व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले मंगलबार बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालको ७० शय्याको नयाँ भवनको उद्घाटन गर्दै यस्तो बताएकी हुन्।
 
उनले जनताको स्वास्थ्यका निम्ति आधरभूत एवं विशेषज्ञ सेवा र सुविधाहरू सहजै उपलब्ध गराउन सकिने गरी अस्पतालको भवन निर्माण सम्पन्न भएकोमा खुसी र सन्तोष लागेको बताइन्।

राष्ट्रपति भण्डारीले हेटौँडा अस्पताल र प्रतिष्ठानले स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन अध्यापन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादनसँगै आमनागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिन्।

‘नेपालको संविधानमा नगरिकका लागि सुनिश्चित गरिएका स्वास्थ्यसम्बन्धी हकमा हेटौँडा अस्पताल र प्रतिष्ठानले सघाउ पुर्याउनेमा म विश्वस्त छु। स्वस्थ व्यक्तिबाट मात्रै स्वस्थ समाज र सुदृढ अर्थतन्त्रको विकास गर्न सम्भव भएकाले त्यसको पूर्तिका लागि अस्पताल र प्रतिष्ठान खरो उत्रिनेमा मैले विश्वास लिएकी छु,’ राष्ट्रपति भण्डारीले भनिन्।

उनले स्वास्थ्य केवल रोग नलाग्नु मात्र होइन, बरु शारीरिक र मानसिक रूपले समेत तन्दरुस्त र सकारात्मक रूपमा रहन सकिने अवस्था वास्तविक अर्थमा स्वास्थ्य भएको उल्लेख गर्दै जनस्वास्थ्यको उच्चतम लक्ष्य हासिल गर्न जनताकै घरदैलोमा सामन्य औषधिमूलोदेखि आधुनिक प्रविधियुक्त विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक रहेकोमा जोड दिइन्।

‘स्वस्थ व्यक्तिबाट मात्रै स्वाधीन र आत्मनिर्भर तथा सबल मुलुकको निर्माण हुन सक्छ भन्ने यथार्थलाई कार्यरूप दिन नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ। तसर्थ गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सहज र सुलभ पहुँचमा पुर्याउनु राज्यको महत्वपूर्ण दायित्व हो।’ 

यसमा संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार गम्भीर हुनु आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताइन्।

जनस्वास्थ्यका कार्यक्रमलाई योजनाबद्ध ढंगले जनताको घरदैलोमा पुर्याउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्न तथा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभाकारी बनाई लागू गर्न प्रतिष्ठानको विशेष भूमिका हुने उनको भनाइ थियो।

‘स्वास्थ्य सेवा र शिक्षा सेवका अतिरिक्त स्वास्थ्य अनुसन्धनका क्षेत्रमा समेत नवीन कार्य गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रगतिका सम्भावना खोजी गर्न सकेको खण्डमा प्रतिष्ठानको उद्देश्य सार्थक हुनेछ,’ उनले भनिन्। 

राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका लागि ठूलो मात्रमा पलायन भइरहेको पुँजीलाई रोक्न स्वदेशमै गुणस्तरीय सेवा तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा प्रतिष्ठानले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।

संघीय सकारको ३५ करोडको लागतमा निर्माण सम्पन्न भवनमा ७० बेड सञ्चालन भएसँगै अब हेटौँडा अस्पतालमा दुई सय बेड नियमित सञ्चालन भएका छन्। यसैगरी अस्पतालको नयाँ भवनमा अस्पतालको इमर्जेन्सी बेड संख्या आठबाट २४ वटामा वृद्धि गरिएको छ। 

यसैगरी, १७ बेडको आइसियु, २० बेडको एचडियू क्षमता र ६ बेडको डायलाइसिस सेवा सञ्चालन भइरहेको अस्पतालमा हाल ५७ जना चिकित्सक कार्यरत हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईंले जानकारी दिए।

रजिस्ट्रार प्रसाईंका अनुसार हाल अस्पतालमा ३८ जना विशेषज्ञ डाक्टर, १९ जना मेडिकल अधिकृत, पाँचजना नर्सिङ अधिकृत पाँचजना, ३८ जना स्टाफ नर्ससहित दुई सयजना स्वास्थ्यकर्मी कार्यरत रहेका छन्। 

सुझावित समाचार