शिवरात्रिका अवसरका पशुपतिनाथ आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले सोमबार बिदाइ गरेको छ । साधुसन्तको वरिष्ठताअनुसार दक्षिणा दिएर उनीहरूको बिदाइ गरिएको छ ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार साधुसन्तलाई दुई सय रुपैयाँदेखि नौ हजारसम्म दक्षिणा दिइएको छ । कोषले नागा बाबाहरूलाई आठ हजार एक सय रुपैयाँ दिएको छ भने अन्य साधुसन्तलाई वरिष्ठताका आधारमा दक्षिण दिएको जनाएको छ । शिवरात्रिमा पशुपति दर्शनमा आउने स्वदेशी र विदेशी साधुसन्तलाई दक्षिणा दिने चलन छ ।
साधुसन्तलाई दिने दक्षिणा गुठी संस्थानले पहिले नै छुट्याएको हुन्छ । यस्तै, कोषले गुठी संस्थानले भन्दा आधा दक्षिण दिएको प्रवक्ता अधिकारीले बताए । ‘साधुसन्तका पनि स्तर छन्, उनीहरूलाई स्तरअनुसार सम्मान र दक्षिणा दिएका छौँ,’ उनले भने, ‘साथै, रुद्राक्षको माला लगाएर स–सम्मान बिदाइ गरिएको छ ।’ उनका अनुसार यो वर्ष सबै गरेर करिब तीन हजार पाँच सय साधुसन्त पशुपतिपरिसरमा आएका थिए । कोषले साधुसन्तको दक्षिणाका लागि १० लाख र गुठी संस्थानले झन्डै २२ लाख बजेट छुट्याएको थियो ।
यस्तै, शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा करिब १५ लाख भेटी संकलन भएको अनुमान छ । तर, गणना भने भएको छैन । संकलन भएको भेटी गणना गर्न पाँच दिन लाग्ने कोषले जनाएको छ ।