बागमतीमा ९ लाख ७९ हजार भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाइयो

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले सञ्चालन गरेको पिपिआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रमअन्तर्गत प्रदेशका ९ लाख ७९ हजार २०२ भेडाबाख्राहरूलाई खोप लगाइएको छ।

प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौँडाले यही फागुन १ देखि ७ गतेसम्म सञ्चालन गरेको सप्ताहव्यापी खोप अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका ९ लाख ७९ हजार २०२ भेडा बाख्रालाई खोप लगाइएको हो। 

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले अभियानअन्तर्गत ६ हजार ७५ वटा भेडा र ९ लाख ७३ हजार १२७ वटा बाख्रालाई खोप लगाइएको जानकारी दिए। अधिकारीका अनुसार प्रदेशका १३ जिल्लामा जम्मा २५ लाख २० हजार ६७१ बाख्रा र ९२ हजार ५६१ भेडा  गरी २६ लाख १३ हजार २३२ भेडाबाख्रा रहेका छन्।

प्रदेशभित्रका १३ वटै जिल्लामा विभिन्न ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिएको थियो। प्रदेश सरकारले १२ लाख ६९ हजार भेडाबाख्रालाई खोप लगाउने लक्ष्य राखेकोमा जम्मा ९ लाख ७९ हजार २०२ भेडाबाख्रालाई मात्र खोप लगाउन सफल भएको छ। अधिकारीका अनुसार मन्त्रालयको लक्ष्यभन्दा करिब २ लाख ९० हजार कम डोज खोप लगाइएको हो।

अभियानका क्रममा काभ्रेका १ लाख ३२ हजार २७०, ललितपुरका ४४ हजार ५१३, काठमाडौंका ४० हजार १४३, भक्तपुरका ४ हजार १५३, दोलखाका ८४ हजार १७६, सिन्धुपाल्चोकका १९ हजार १३५ वटा भेडाबाख्रालाई खोप लगाइएको उनले जानकारी दिए। यसैगरी, सिन्धुलीका ३२ हजार ४६२, रामेछापका १ लाख ९ हजार, मकवानपुरका १ लाख ५३ हजार ४२०, चितवनका ८६ हजार ८०२, नुवाकोटका १ लाख ४५ हजार २८१, रसुवाका ३० हजार ४४०, धादिङका ९७ हजार ४०७ वटा भेडाबाख्रालाई खोप लगाइएको छ।

यस वर्षका लागि पिपिआर खोप अभियान सम्पन्न भए पनि सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पुग्न बाँकी रहेका स्थानहरूमा स्थानीयस्तरमै रहेका सरकारी पशु प्राविधिकहरूको सहयोगमा खोप लगाइने अधिकारीले जानकारी दिए।

सुझावित समाचार