जारी आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको चौथो खेलमा पनि नामिबिया पराजित भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार सम्पन्न खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएसँगै जारी त्रिकोणात्मक शृंखलामा लतागार चौथो हार भोगेको हो।
यस हारसँगै शृंखलामा जितबिहीन बन्दा नामिबिया ३४ खेलमा ३७ अंकमा सीमित बन्यो। यसका बाबजुद नामिबिया तालिकाको तेस्रो स्थानमा यथावत छ। लिग–२ को च्याम्पियन बनिसकेको स्कटल्यान्ड जितका साथ ३५ खेलबाट ५० अंकका साथ शीर्ष स्थानमा छ।
नेपाल भ्रमणमा रहेको नामिबिया स्कटल्यान्डबाट प्राप्त २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा ३८.४ ओभरमा एक सय ७८ रनमै समेटियो। नामिबियाका लागि लो ह्यान्डर लरेन्सले ६७ बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। यसैगरी, कप्तान जेरार्ड इरस्मसले ४३, जेन ग्रिनले २५ तथा सउन फोउच र रुबेन ट्रम्पलम्यानले समान १० रन जोडे। नामिबियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा स्कटल्यान्डका मार्क वाटले सर्वाधिक ४ विकेट निकाल्दा, माइकल लिस्कले ३, ब्रेन्डन म्याकमुलनले २ तथा क्रिस ग्रेभेसले १ विकेट आफ्नो नाममा लेखाए।
त्रिवि मैदानमा यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय २१ रन बनाउन सफल भएको थियो। स्कटल्यान्डका लागि किस्टोफ म्याकब्रिडले ७५ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ४७ रनको पारी खेले। यसैगरी, टोमस म्याकिनटोसले ३४, कप्तान रिची बेरिंटनले ३२, माइकल लिस्कले २९, लियम नेलोरले २०, म्याथ्यु क्रसले १६ र क्रिस ग्रेभेसले १४ रन जोडे। नामिबियाका लागि रुबेन ट्रम्पलम्यान एक्लैले ५ विकेट हात पार्दा टान्गिनी लुंगामिनीले २ तथा बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान १-१ विकेट हात पारे।
यसअघि नामिबिया नेपालसँग पहिलो खेलमा दुई विकेट, दोस्रो खेल स्कटल्यान्डसँग १० विकेट र नेपालसँगको दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो। शृंखलामा मंगलबार अन्तिम खेल नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।