टरिगाउँ एयरपोर्ट विस्तार : यी हुन् ‘डिपिआर’ले अघि सारेका चार विकल्प

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

दाङको तुलसीपुर– १२ टरिगाउँ विमानस्थल विस्तारका लागि चारवटा विकल्प दिइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर टरिगाउँ विमानस्थल विस्तार गर्न सकिने बताएको छ। 

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा चारवटा विकल्प दिएसँगै कुन विकल्पमा काम गर्ने भन्ने विषयमा छलफल भइरहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन्। 

‘चारवटा विकल्प दिएर डिपिआर भएको छ,’ उनले भनिन्, ‘कुनलाई आधार बनाएर एयरपोर्ट स्तरोन्नति गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

उनले विकल्प एकअनुसार नै काम गर्दा उत्तम लाग्ने भएकाले सोहीअनुसार छलफल चलाएकोसमेत बताइन् । पहिलो विकल्प पुरानै धावनमार्गमा थप गर्नेछ भने अन्य तीनवटा विकल्पअनुसार नयाँ धावनमार्ग तयार गर्नुपर्ने हुन्छ।  

के–के हुन् चार विकल्प ? 

पहिलो विकल्प 

पहिलो विकल्प हाल भइरहेको धावनमार्गमै विस्तार गरी एक हजार दुई सय३० मिटर लम्बाइ रनवे हुन सक्छ। जसका लागि  ५७ बिघा जग्गा चाहिन्छ। अहिले एयरपोर्टको ३९ बिघा जग्गा छ। बाँकी सामुदायिक बनको १२ बिघा, अधिग्रहण १.२ बिघा र सार्वजनिक जग्गा ४.८ बिघा लैजानुपर्छ। 

यसरी एयरपोर्ट बनाउँदा ६ अर्ब १५ करोड ९१ लाख ५४ हजार आठ सय लागत अनुमान गरिएको छ। जसमा फुटपाथ तथा संरचना निर्माणको कामका लागि दुई अर्ब ७६ करोड ५० लाख ९४ हजार आठ सय ६०, भवनलगायतका सामग्रीका लागि  तीन अरब १३ करोड ४२ लाख ४० हजार, विविध कामका लागि १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणका लागि १० करोड २५ लाख लागत अनुमान गरिएको छ। 

यो विकल्पअनुसार अहिले रहेका घरहरू फाल्न पर्दैन। मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ। यसरी एयरपोर्ट बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ। यसमा रातको समयमा र कम ‘भिजिबिलिटी’ हुँदा अवतरण गर्न सक्ने अवस्था रहँदैन। रातको समयमा हवाई अवतरण गर्नका लागि थप चार सय ५० मिटर जमिन चाहिन्छ। यो डिजाइनअनुसार काम गरेमा पाँच वर्षमा एयरपोर्ट बन्नेछ। यसमा आइई र इआइए गर्न दुई वर्ष लाग्छ। आइइई र इआइई गर्नुका साथै जग्गा अधिग्रहण गरेपछि तीन वर्ष लाग्छ।  

विकल्प दुई 

दोस्रो विकल्पअनुसार काम गर्दा धावनमार्ग एक हजार चार सय ३० मिटर हुन्छ। यसरी काम गर्दा क्षेत्रीयस्तरको विमानस्थल तयार हुन्छ। यो विकल्पमा काम गर्दा करिब ८३ बिघा जग्गा चाहिन्छ। जसमा थप १४.४ बिघा जग्गा अधिग्रहण, सामुदायिक वन क्षेत्रको ८.७ बिघा, ग्वारखोला नदी क्षेत्रको १.६ बिघा र सार्वजनिक जग्गा १९ बिघा जग्गा लैजानुपर्छ। 

जुन पूर्व–पश्चिम मोडिएको एयरपोर्ट बन्नेछ। सोहीस्तरको विमान निर्माणका लागि मन्दिरसहित अहिले बनेका करिब ९५ वटा घर हटाउनुपर्छ । त्यसका लागि नाै अर्ब १७ करोड ७१ लाख ३२ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। घरहरू हटाउनुपर्ने र जग्गाको मुआब्जा दिनुपर्ने भएकाले यसमा बढी लागत अनुमान गरिएको छ । यस्तो खालको विमान बनाउने करिब सात वर्ष लाग्छ।  

तेस्रो विकल्प 

तेस्रो विकल्पअनुसार काम गर्दा एक हजार पाँच सय  मिटर रनवे निर्माण गर्न सकिन्छ। क्षेत्रीयस्तरको यो रनवे बनाउन एक सय ४७ विघा जग्गा चाहिन्छ। महेन्द्र माविदेखि हाइवेको केही पश्चिमसम्म जाने गरी यो विमानस्थलको परिकल्पना गरिएको छ। जसका लागि ४८.९ बिघा जग्गा अधिग्रहण गुर्नपर्ने, वनको २१.६ बिघा जग्गा र सार्वजनिक जग्गा २५.९ बिघा लैजानुपर्छ। यो विकल्पअनुसार विमानस्थल बनाउँदा धेरै निजी जग्गा लैजानुपर्छ। 

त्यसले गर्दा लागत अलि धेरै लाग्ने देखिन्छ । यसरी विमानस्थल निर्माण गर्दा १६ अर्ब ८४ करोड ५४ लाख पाँच हजार पाँच सय ४० लागत अनुमान गरिएको छ । जसमा चार अर्ब ७७ लाख जग्गा व्यवस्थापनमा मात्रै खर्च हुने अनुमान गरिएको छ । यसरी विमानस्थल निर्माण गर्दा एक सय ३२ भन्दा बढी घर हटाउनुपर्छ ।  

अन्तिम विकल्प 

चौथो विकल्पअनुसार एक हजार चार सय मिटर ३० रनवे निर्माण हुन्छ। यो विकल्पअनुसार क्षेत्रीयस्तरको विमानस्थल निर्माण हुन्छ। ९३ बिघा जग्गा आवश्यक पर्ने उक्त विमानस्थल निर्माणका लागि ६.४ बिघा जग्गा अधिग्रहण गर्नुपर्छ।

त्यस्तै, सामुदायिक वन क्षेत्रको २८.४ बिघा, सार्वजनिक जग्गा १८.१ बिघा र नदी क्षेत्रको १.१ बिघा जग्गा आवश्यक पर्छ। सोही विमान निर्माणका लागि करिब ८५ वटा घर हटाउनुपर्छ। सोही विमानस्थलको लगानी नाै अर्ब ९९ करोड ८८ लाख ७९ हजार लागत अनुमान गरिएको छ। योअनुसार काम गर्दा आठ वर्षमा काम सकिन्छ। 

अर्थ मन्त्रालयसँग कुरा भइसक्यो : प्रमुख चौधरी
 
टरिगाउँ एयरपोर्ट विस्तार समन्वय समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिकाकी प्रमुख स्यानी चौधरीले यी विकल्पमध्ये एउटा विकल्प रोजेर काम अघि बढाउने बताइन्।  त्यसका लागि जिल्ला र लाभान्वित जिल्लाका सरोकारवालाहरूसँग छलफल गरेर एउटा विकल्पअनुसार काम अघि बढाउने बताइन्।  

अर्थ मन्त्रालयसँग पनि कुरा भइसकेको भन्दै एउटा विकल्प दिए, त्यहीअनुसार बजेट हाल्ने आश्वासन पनि पाएको चौधरीकाे भनाइ छ । उनका अनुसार क्यानका इन्जिनियरले यसअघि पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको पनि डिपिआर गरेर सफलता पाएको भन्दै टरिगाउँमा पनि सफलता पाउने अपेक्षा छ।  

टरिगाउँ एयरपोर्टको इतिहास निकै पुरानो छ। ०११ सालदेखि विमानले उडान थालेको थियो। ०११ सालदेखि ०४२ सालसम्म नियमित रूपमा विमान सञ्चालनमा भएको एयरपोर्ट भएको हो। 

त्यतिवेला सीधा दाङ–काठमाडौं जाने यातायातको अर्को विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन। बुटवलस्थित तिनाउ नदीमा पनि पुल निर्माण भएको थिएन।

त्यसैले यात्रु रुपैडिया र भैरहवा भएर भारतीय भूमि हुँदै विराटनगर वा काठमाडौं जानुपर्ने परिस्थिति थियो। केही वर्ष अवरोध भए पनि त्यसपछि माओवादीको युद्धकालमा ०५६ सालसम्म पनि यहाँबाट विमान सञ्चालन भएको थियो।

केही समय अवरोध भए पनि ०५८ सालसम्म विमान सेवा जारी थियो । त्यसबीचमा केही वर्ष फेरि विमान सेवा अवरुद्ध बन्न पुगेको थियो । तैपनि जसोतसो ०७० सम्म विमान सञ्चालनमा आएको थियो।

त्यसपछि टरिगाउँ विमानस्थलको कालोपत्रेको लागि विमान अवरुद्ध बन्यो । विमानस्थल कालोपत्रे भएपछि तारा एयरले पहिलोपटक दाङ र रुुकममा एकै दिन परीक्षण उडान भरेको थियो। 

त्यसपछि रुकुममा विमान नियमित भए पनि त्यसको झन्डै एक वर्षको अन्तरालमा मात्रै ०७२ जेठ १४ देखि टरिगाउँ एयरपोर्टबाट गोमा एयरले विमान सेवा सुरु गरेको थियो, तर त्यो एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्न पुगेको थियो।

त्यसको प्रमुख कारण पर्याप्त यात्रु नपाउनु थियो । ०७५ सालदेखि भने नियमित रूपमा हवाई सञ्चालन भइरहेको छ। उक्त एयरपोर्टमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छन्। साढे आठ करोडको टेन्डरबाट कालोपत्रे गरिएको टरिगाउँ विमान स्थलको धावनमार्गको लम्बाइ सात सय ५० मिटरको छ भने चौडाइ ३० मिटरको मात्रै छ।

ठूलाखाले विमान अवतरणका लागि कम्तीमा पनि धावनमार्गको लम्बाइ एक हजार दुई सय मिटरदेखि माथि एक हजार पाँच सय मिटरसम्मको र चौडाइ ३० देखि ५० मिटरसम्मको धावनमार्ग कालोपत्रे आवश्यक पर्छ। 

हाल एयरपोर्टमा नेपाल एयरलाइन्स र सीता एयरलाइन्सका जहाजले उडान भरिरहेका छन्। हाल शुक्रबारबाहेक सबै दिन टरिगाउँबाट हवाई सेवा छ। शनिबार भने सीता र नेपाल एयरलाइन्सका दुईवटै जहाजले उडान भर्ने गरेका छन्। 
 

सुझावित समाचार