एमाले ‘मिसन ग्रासरुट’को मुख्य मिसन : ११ वटा जिम्मेवारी पाएका साढे तीन सय नेताको परीक्षा

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

एमालेले सातवटै प्रदेशमा एकैपटक पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ शुभारम्भ गरेको छ । ५ फागुनमा पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी ओलीले ‘भर्चुअल माध्यम’बाट शुभारम्भ गरेको अभियानमा एमालेका पदाधिकारीसहित साढे तीन सय केन्द्रीय सदस्य प्रदेश हुँदै पालिकाकेन्द्रित भएका छन् । एमालेको केन्द्रीय सचिवालयले सबै केन्द्रीय नेता ६ हजार सात सय ४३ वटा वडाका टोलसम्म पुगेर संगठन विस्तार गर्ने कार्यादेश दिएको छ ।

दुईमहिने अभियानका लागि सबैजसो केन्द्रीय सदस्य राजधानी काठमाडौं छाडेर जिल्ला र सात सय ५३ पालिकामा केन्द्रित भएका छन् । ११ वटा जिम्मेवारी दिएर केन्द्रीय सदस्यलाई दुई महिनासम्म वडा हुँदै टोलसम्मको कमिटी गठन–पुनर्गठन र संगठन विस्तारका लागि खटाइएको जनाएको छ । चुनाव सकिएको तीन महिनामै यो अभियानमार्फत केन्द्रीय सदस्यको सांगठनिक क्षमता परीक्षण गर्न लागिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

‘केन्द्रीय नेताहरू विभिन्न बहानामा सहरमा, राजधानीमा केन्द्रित हुने प्रवृत्तिका कारण पार्टीको सांगठनिक काम उठ्न नसकेको यथार्थ हो । नेताहरू सुविधाभोगी भएको कार्यकर्ता र जनताको जनगुनासो पनि छ,’ अभियानको सिलसिलामा मुस्ताङ पुगेका उपमहासचिव गुरुङले टेलिफोन संवादमा भने, ‘त्यसैले सबै केन्द्रीय सदस्यलाई काममा लगाएर सांगठनिक क्षमता परीक्षण गर्न खोजिएको हो ।’ 

विभिन्न बहानाबाजीमा राजधानीमै बस्ने केन्द्रीय सदस्यहरूको कामको वास्तविक परीक्षा अब सुरु भएको उनको भनाइ छ । ‘कार्यादेशसहित काममा खटाइएपछि पार्टी कामप्रति को कति जिम्मेवार छ, कसले मिसन पूरा गर्छ कि गर्दैन भन्ने वास्तविक परीक्षा अब सुरु भएको छ,’ गुरुङले भने । 

गत २६ माघमा बसेको केन्द्रीय सचिवालय बैठकबाट एमालेले संगठन सुदृढीकरण र विस्तारसम्बन्धी ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै १ फागुनमा सात सय ५३ वटा पालिका र विशेष क्षेत्रमा खटिने केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको थियो । केन्द्रीय सदस्यहरू कामबाट फर्किएपछि मात्रै केन्द्रीय कमिटी बैठक बोलाउने केन्द्रीय सचिवालयको तयारी छ । अभियानमा तीन सय २१ केन्द्रीय सदस्यले पालिकाभित्रका सबै वडा र टोल तहसम्म पार्टीका बैठक, भेला, सभा राखेर संगठन विस्तार गर्नेछन् । पदाधिकारीसहित ४५ सदस्यीय स्थायी समितिका नेताहरूले कामको संयोजन र अनुगमन गर्नेछन् । 

एमाले पोलिटब्युरो सदस्य तथा स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले पार्टीले आधारभूत एकाइका रूपमा रहेको पार्टी सदस्यहरूबीच पार्टी केन्द्र पुग्ने र जोडिने अभियान सुरु गरेको प्रस्ट्याए । ‘शरीरको आधारभूत एकाइ कोष (सेल) हो भने पार्टीको आधारभूत एकाइ कोष (सेल)भनेको पार्टी सदस्यहरू हुन् । मिसन ग्रासरुट कार्यक्रम यही आधारभूत एकाइका रूपमा रहेको पार्टी सदस्यहरूबीच पार्टी केन्द्र पुग्ने र जोडिने अभियान हो,’ रिजालले भने ।

अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने कार्यक्रम छ । यस्तै, स्थानीय तहमा उत्पन्न र हुन सक्ने अन्तर्विरोधको पहिचान गर्ने, पार्टी र जनप्रतिनिधिबीच वैचारिक, राजनीतिक र संगठनात्मक एकरूपता, पार्टीमा सम्भावनायुक्त नयाँ पुस्ताको पहिचान, नेता–कार्यकर्ता र पार्टी–जनता सम्बन्ध सुदृढ गर्ने एमालेको योजना छ । 

एमाले नेताहरू को कहाँ ?
अभियानको मूल संयोजक अध्यक्ष केपी ओलीले गर्नेछन् । उपाध्यक्षहरू प्रशिक्षण र अभियानका अन्य क्रियाकलापमा संलग्न हुनेछन् भने महासचिव र उपमहासचिव वैचारिक, राजनीतिक सामग्री व्यवस्थापन, प्रचार संयोजन, आर्थिक–भौतिक व्यवस्थापनमा खटिने भएका छन् । सचिवहरूलाई अनुगमन संयोजनको जिम्मेवारी तोकिएको छ । 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भन्छन् –केन्द्रीय नेताहरू विभिन्न बहानामा सहरमा, राजधानीमा केन्द्रित हुने प्रवृत्तिका कारण पार्टीको सांगठनिक काम उठ्न नसकेको यथार्थ हो । नेताहरू सुविधाभोगी भएको कार्यकर्ता र जनताको जनगुनासो पनि छ । त्यसैले सबै केन्द्रीय सदस्यलाई काममा लगाएर सांगठनिक क्षमता परीक्षण गर्न खोजिएको हो ।
 

पार्टीको भूगोल, विभाग र फाँटहरूमा जिम्मेवारी तोकिएका सबै पोलिटब्युरो र केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ । स्थायी कमिटीका सदस्यलाई अनुगमनको जिम्मेवारीमा खटाइएको छ । सबै केन्द्रीय सदस्यलाई हाल जिम्मा लिएको जिल्लाभन्दा फरक जिल्लामा खटाइएको छ । प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य र अन्य प्रतिनिधिलाई पनि स्वार्थ नबाझिने गरी नयाँ कार्यक्षेत्रमा जिम्मेवारी तोकिएको अधिकारीले जानकारी दिए ।

केन्द्रीय र जिल्ला प्रतिनिधिको उपस्थितिमा पालिका कमिटीको बैठक आयोजना गर्ने, राम्रो सम्भावना भएका युवा र सम्भावनायुक्त अन्य व्यक्तिलाई पार्टीमा सामेल हुन प्रेरित गर्ने, भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्ने, विदेशमा रहेका सदस्यको हकमा भर्चुअल माध्यमबाट र टेलिफोनबाट सम्पर्क गरेर नवीकरण गरिने भएको छ । धेरैभन्दा धेरै टोल कमिटी गठन र पुनर्गठन गर्ने एमालेको लक्ष्य छ । 

प्रदेश १ मा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई दिइएको छ । अनुगमन संयोजनमा सचिव टोपबहादुर रायमाझी र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू शेरधन राई, अग्नि खरेल, राजेन्द्र गौतम र हिक्मत कार्की छन् । 

मधेस प्रदेशमा अभिमुखीकरणको जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् । अनुगमन संयोजक सचिव रघुवीर महासेठ र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल छन् । बागमती प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाएका छन् । अनुगमन संयोजक सचिव गोकर्ण विष्ट, सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ छन् । 

गण्डकी प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष युवराज ज्ञवालीले पाएका छन् । अनुगमन संयोजक सचिव पदमा अर्याल र सदस्यहरूमा स्थायी कमिटी सदस्य किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा छन् । लुम्बिनी प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष रामबहादुर थापाले पाएका छन् । अनुगमन संयोजक सचिव छविलाल विश्वकर्मा र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाङ्फे छन् । 

कर्णाली प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष सुवास नेम्वाङले पाएका छन् । अनुगमन संयोजक सचिव योगेश भट्टराई र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी छन् । 
सुदूरपश्चिम प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष विष्णु पौडेलले पाएका छन् । अनुगमन संयोजक सचिव लेखराज भट्ट र सदस्यहरूमा स्यायी कमिटी सदस्यहरू मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा छन् । 

विशेष कमिटी (गैरभौगोलिक क्षेत्र)मा केन्द्रीय कमिटीले संयोजन गर्ने भएको छ । अभिमुखीकरण र अनुगमनको जिम्मा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र कार्यालय सचिव डा. भीष्म अधिकारीले पाएका छन् । 

कारबाही सुरु भएपछि एमाले परित्याग गर्दै दुर्गा प्रसाईं
एमालेले पार्टीबाट निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएपछि केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्याग गर्ने तयारी गरेका छन् । एमालेको प्रदेश १ कमिटीले पार्टीको नीति, सिद्धान्त र विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै अनुशासनको कारबाही गर्न केन्द्रमा सिफारिस गरेलगत्तै प्रसाईंले आइतबार पार्टी परित्याग गर्न लागेको घोषणा गरेका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुख्य अतिथि बनाएर गत १ फागुनमा झापामा प्रसाईंले कार्यक्रम गरेका थिए । पूर्वराजा सहभागी हुने कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीलाई निमन्त्रणा गरे पनि उनी सहभागी भएका थिएनन् । त्यसलगत्तै पार्टीभित्र व्यापक आलोचना बढेपछि प्रसाईंलाई एमालेले कारवाही गर्ने तयारी गरेको छ । 

पार्टी परित्यागका लागि राजीनामापत्र लिएर प्रसाईं काठमाडौं आइपुगेको उनीनिकट स्रोतले जनाएको छ । खेलकुद महासंघको महाधिवेशन उद्घाटनका लागि विराटनगर पुगेका कारण अध्यक्ष केपी ओलीलाई भेटेर प्रसाईंले राजीनामा बुझाउन पाएका छैनन् । राजीनामाबारे बुझ्न खोज्दा प्रसाईं टेलिफोनमा उपलब्ध हुन सकेनन् । ‘पार्टीले कारबाही गर्नुअघि नै राजीनामा दिनु राम्रो हुन्छ भनेर उहाँ परित्याग गर्ने निष्कर्षमा पुग्नुभएको हो, तर उहाँले समय नपाएका कारण अध्यक्षलाई भेटेर राजीनामा बुझाइसक्नुभएको छैन,’ उनीनिकट स्रोतले भन्यो । २६ मंसिर ०७८ मा एमाले केन्द्रीय सदस्य मनोनीत भएका प्रसाईं एमालेको केन्द्रीय उद्योग, वाणिज्य तथा आपूर्ति विभागका उपप्रमुख छन् ।

सुझावित समाचार