लमजुङको ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

लमजुङको मध्यनेपाल नगरपालिका– ७ करापुटारमा रहेको ईशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा शिवरात्रिका दिन शनिबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा पनि पुज्ने चलन छ। ईशानेश्वर महादेवको दर्शन गरी पूजाअर्चना गरेमा सन्तान प्राप्त हुने विश्वास गरिन्छ। विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरूका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले शिवरात्रिमा ठाडो बत्ती बाल्न भक्तजनहरू मन्दिरसम्म आउने गरेका करापुटार महादेव क्षेत्र विकास समितिले जनाएको छ। 

सन्तानप्राप्तिको आशाका साथै मनोकांक्षा पूरा हुने भएकाले ठाडो बत्ती बाल्न आएको चितवनकी बिमला ज्ञवालीले बताइन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष भक्तजनको संख्या धेरै रहेको समितिले जनाएको छ।

मन्दिर परिसरभित्र १०८ धारा निर्माण गरिएको स्थानीय शिक्षक रमेशचन्द्र घिमिरेले बताए। उनका अनुसार मन्दिरमा ठाडो बत्ती बाल्नका लागि यस वर्ष अनलाइन बुकिङको व्यवस्था गरिएको थियो।

सन्तान नभएका हजारौँ दम्पतीहरू मन्दिर परिसरमा रातभरि जाग्राम रही ठाडो बत्ती बाल्न टाढाटाढाबाट आएका मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले बताए। काठमाडौं, पोखरा, चितवन, तनहुँ, पर्वत, स्याङ्जा, बाग्लुङ, नवलपरासीलगायतका विभिन्न जिल्लाबाटसमेत हजारौँको संख्यामा भक्तजन करापुटार आएका छन्। 

करिब ६ सय वर्षअघि मन्दिरको निर्माण भएको बताइन्छ। प्राचीनकालमा हरिनारायण पोखरेलले बिउ राख्न गोरु जोत्दा शिवलिंग जोतिन गई रगत बग्न थालेको र हलगोरुसहित हलीको मृत्यु भई सो ठाउँमा शिवलिंग उत्पत्ति भएको किंवदन्ती रहेको छ।

सुझावित समाचार