नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याउँदै नेपाल, कुशल आउट

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ । नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई पहिलो झड्का लागेको छ । 

ओपनर ब्याटर कुशल भुर्तेल एक रन बनाएर आउट भएका छन् । नामिबियाविरुद्धको पहिलो खेलमा शतक प्रहार गरेका कुशलबाट आज पनि ठूलो स्कोरको अपेक्षा थियो । तर, उनी ट्रम्पेलमेनको बलमा पिकी या फ्रान्सबाट समातिए । 

अहिले अर्का ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्ल क्रिजमा छन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पहिले ब्याटिङको निम्ता पाएको नामिबियाले ६ विकेटको क्षतिमा पूरा ५० ओभर खेल्दै २७४ रन बनाएपछि नेपालले २७५ रनको लक्ष्य पाएको हो । 

नामिबियाका जेन ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय इनिङ खेल्दा पिकी या फ्रान्सले ३९ बलमा ४९ रन जोडे । लो–हान्द्रे लरेन्सले ४१ रनको योगदान गर्दा रुबेन ट्रम्पेलम्यानले २४ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेर उनले ४६ रन दिएका छन् । करन केसीले एक विकेट लिए ।

यसअघि नेपाल र नामिबियाबीच शृंखलाको पहिलो खेलमा भिडन्त भएको थियो । सो भिडन्तमा नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । 

आइसिसी वर्ल्ड क्रिकेट लिग २ को च्याम्पियन बनिसकेको स्कटल्यान्डलाई समेत हराउन नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

सुझावित समाचार