त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी खेलमा अहिले ब्याटिङ गरिरहेको नामिबियाको चौथो विकेट खसेको छ ।
सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिएका छन् । दुवै ओपनरलाई आउट गरेका सन्दीपले नै नामिबियाका कप्तान इरसमसलाई बोल्ड आउट गरे ।
त्यसअघि सन्दीप जोरा र दीपेन्द्रसिंह ऐरीले भान लिनगेनलाई रनआउट गराएपछि नामिबियाले तेस्रो विकेट गुमाएको थियो ।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि नामिबिया ब्याटिङमा आएको हो । ताजा अवस्थामा नामिबियाले ३१औँ ओभरमा चार विकेट गुमाएर ११५ रन बनाएको छ ।
यसअघि नेपाल र नामिबियाबीच शृंखलाको पहिलो खेलमा भिडन्त भएको थियो । सो भिडन्तमा नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको थियो ।
आइसिसी वर्ल्ड क्रिकेट लिग २ को च्याम्पियन बनिसकेको स्कटल्यान्डलाई समेत हराएको नेपाल आज उच्च मनोबलसहित मैदानमा छ । तर, बलरहरूले आज धारिलो बलिङ प्रदर्शन गर्न सकिरहेका छैनन् ।