४७ विरुद्ध अभियोग, चार पक्राउ, अदालतमा बयान सुरु

भारतीय नागरिक ४३ वर्षीय जितेश सुरेन्द्र भनिने जितेश सुरेन्द्रन । मर्कन्टायल एक्सचेन्ज नेपाल (मेक्स) र हिमालयन क्लियरिङ कर्पोरेसन (एचसिसी)का प्रमुख कार्यकारी अधिकृत जितेशलाई प्रहरीले २० पुसमा पक्राउ गरेको थियो । उनीसहित ठगीमा संलग्न ४७ विरुद्ध मुद्दा दर्ता भएको छ ।
कमोडिटी मार्केट (वस्तु विनियम बजार)का नाम तीन अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी अभियोगमा पक्राउ परेका अभियुक्तविरुद्धको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ । कमोडिटी ठगी अभियोगमा ५१ जना संलग्न भएकोमा ४७ विरुद्ध मुद्दा दर्ता भएको हो । यीमध्ये पक्राउ परेका चार अभियुक्तविरुद्ध बयान सुरु भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार जिल्ला अदालत काठमाडौंमा अभियोग दर्ता गराएको थियो । ‘कमोडिटी मार्केटका नाममा भएका ठगीसम्बन्धी अभियोगपत्र हामीले दुई दिनअघि अदालतमा पेस गरेका थियौँ । आजबाट पक्राउ परेका अभियुक्तविरुद्ध बयान लिने काम सुरु भएको छ । करिब तीन अर्ब रुपैयाँबराबरको ठगी भएको अभियोगपत्र बनेको छ । अभियुक्तविरुद्धको थुनछेक बहस भने बुधबारबाट सुरु होला,’ जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले भने ।
प्रहरीले कमोडिटी ठगी अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका– ४ पानधारेका ४१ वर्षीय सुनील श्रेष्ठ, खोटाङ बुइपा– २ की ४५ वर्षीया कञ्चन भनिने कमला श्रेष्ठ, कञ्चनपुर भीमदत्त नगरपालिका– ७ का ३७ वर्षीय नरेन्द्रप्रसाद भट्ट र भारतीय नागरिक ४३ वर्षीय जितेश सुरेन्द्र भनिने जितेश सुरेन्द्रनलाई २० पुसमा विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये सुनील र कमला मनी स्पेल इन्भेस्टमेन्ट प्रालिका सञ्चालक तथा सेयरहोल्डर हुन् । नरेन्द्र मर्कन्टायल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) नेपाल र हिमालयन क्लियरिङ कर्पोरेसन (एचसिसी)का कर्मचारी हुन् । त्यस्तै, भारतीय नागरिक सुरेन्द्रन मेक्स र एचसिसीका प्रमुख कार्यकारी अधिकृत हुन् ।
उनीहरूबाहेक बालकृष्ण उपाध्याय, दीपेन्द्रकुमार खतिवडा, नरेन्द्रबहादुर थापा, हिमाली चन्द राणा, कमलेशकुमार रतेरिया, माधवप्रसाद कोइराला र विवेक नेपालविरुद्ध पनि अभियोगपत्र पेस गरिएको छ । उनीहरू मेक्सका सेयरहोल्डर हुन् । त्यस्तै, एचसिसीका सञ्चालक तथा सेयरहोल्डर उर्मिला श्रेष्ठ र टेकराज भट्टविरुद्ध पनि अभियोगपत्र पेस भएको छ ।
त्यसबाहेक मेक्सका कर्मचारी रोशन कुइँकेल, अमित प्याकुरेल, श्यामकाजी घिमिरे, विधता पुरी, राजेन्द्र नेपाल, गीता खतिवडा, विवेक रिसाल, भारतीय नागरिक मोहम्मद अब्दुल करिम फैसल, लक्ष्मण प्रसाद, सिकन्दर आलम, अब्दुल पुलिकल, बिजेश रामनाथ, मोहम्मद रफी कुथारतोडीविरुद्ध पनि ठगी अभियोगमा मुद्दा पेस गरिएको छ ।
ब्रोकर कम्पनी विजय कमोडिटीका सेयरहोल्डर, कमलबहादुर कार्की, सिर्जना तिवारी, जेडी इन्भेस्टमेन्टका सेयरहोल्डर राजीवप्रसाद शर्मा, सुलभ नेपाल, ज्योति खड्का, इजोन कमोडिटीका सञ्चालक राजेन्द्ररत्न तुलाधर, आनन्द देवकोटा, इम्पेरियम फाइनान्स एकेडेमीका सञ्चालक तेजस्वी शर्मा, उत्सव न्यौपाने र सूर्य कुमार पनि सोही ठगी धन्दामा संलग्न रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, मनिप्ल्स एन्ड सेक्युरिटीका सेयरहोल्डर विष्णु शर्मा, लिमा इन्भेस्टमेन्टका सञ्चालक धीरेन्द्र सिंह, आइएफआरएस सोलुसनका सञ्चालक रामकुमार शाह र रञ्जितकुमार महतो पनि ठगी धन्दामा संलग्न थिए । प्रहरीले सुनील, कमला, नरेन्द्रप्रसाद र जितेशबाहेक अन्यलाई पक्राउ गरेको छैन । धन्दामा संलग्न अन्य चारजनाको भने प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन ।
कमोडिटी मार्केटका नाममा भएको ठगी अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले डिएसपी भरतबहादुर शाहको नेतृत्वमा अनुसन्धान समिति बनाएको थियो ।
ठगी गरिएको रकम भारतको एचडिएफसी बैंकमा
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार कमोडिटी मार्केटका मुख्य योजनाकार भारत तमिलनाडुका सुरेन्द्रनले मात्रै एचसिसी र मेक्सबाट कमसिन बापत १५ करोड ५० लाख ८२ हजार ७७ रुपैयाँ प्राप्त गरेका थिए । उनले कम्पनीले नाफा गरेको कुल मुनाफको १० प्रतिशत आफैँ लिँदै आएका थिए । प्राप्त रकम सोहीबापतको हो । यो रकम उनले हुन्डी तथा क्रिप्टोकरेन्सीमार्फत भारत लैजाने गर्थे । यसरी लगिएको रकम भारतको एचडिएफसी (हाउजिङ डेभलपमेन्ट फाइनान्स कर्पोरेसन) बैंकमा जम्मा गर्थे ।
एचसिसीमार्फत कमोडिटी नामको ठगी धन्दा उनले इम्पेरियम फाइनान्स एकेडमी (आइएमएफए)को आवरणमा सञ्चालन गर्दै आएका थिए । उनकी श्रीमती तेजस्वी शर्मा नेपाली हुन् । उक्त कम्पनी उनले श्रीमतीको नाममा दर्ता गराएका छन् । सानोगौचरनमा रहेको कार्यलयको ढोकामा स्टिकर पनि उनले आइएमएफएकै टाँसेका छन् । दर्ता प्रमाणपत्र तथा पान नम्बर पनि सोहीमार्फत नै झिकेका छन् । एचसिसीको दर्ता सन्दर्भमा कसैले जानकारी लिन खोजे उनले सोही कम्पनीको दर्ता प्रमाणपत्र देखाउँदै आएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले नक्कली कम्पनी खडा गरी कमोडिटी मार्केटका नाममा ठगी भएको बताए । कारोबार गर्न अनुमति पनि कहीँबाट नलिएको उनको भनाइ छ ।
यसरी हुन्थ्यो ठगी
कमोडिटी कारोबार वस्तु विनिमयको मूल्यलाई आधार मानेर गरिने ‘भर्चुअल’ कारोबार हो । यसको कारोबार सेयरसँग मिल्दोजुल्दो हुन्छ । सेयर कारोबारमा कम्पनीको मूल्य बजारले निर्धारण गर्छ । सोही आधारमा कम्पनीको सेयर खरिद–बिक्री हुन्छ । यसमा वस्तुको मूल्य व्यक्तिले निर्धारण गर्छ । सोही आधारमा खरिद–बिक्रीका लागि बोलकबोल हुन्छ । यस्ता कारोबारमा सुन, चाँदी, पित्तल, फलाम, ग्यास, गहनालगायत सामग्री प्रयोग हुन्छन् ।
कारोबारका लागि कम्पनीले विशेष किसिमको ‘मेक्स नेपाल’ नामको एप्लिकेसन बनाएको छ । सोही एप्लिकेसनमा वस्तुको मूल्य निर्धारण गरी बोलकबोल लगाइन्छ । रकम एप्लिकेसनमार्फत खातामा जम्मा गर्न लगाइन्छ । सुरु कारोबार गर्नेलाई जिताइन्छ । हौसिएर जब उसले धेरै कारोबार गर्न सुरु गर्छ, त्यसपछि एप्सको सर्भर नै डाउन गराइन्छ । जसबाट वस्तुको निर्धारित मूल्य नाटकीय ढंगले घटाइन्छ । कारोबार गर्ने व्यक्ति अब सस्तो मूल्यमा वस्तु तथा सामग्री बेच्न बाध्य हुन्छ । यही मौकामा महँगो वस्तु तथा सामग्री सस्तो मूल्यमा कम्पनी आफैँले खरिद गर्छ । जब बिक्री गर्ने समय आउँछ, पुनः सर्भर डाउन गरी वस्तुको मूल्य फेरि एकाएक बढाइदिन्छ । यसरी कम्पनीले दोहोरो नाफा कमाउँछ । प्रहरीका अनुसार यो धन्दा धितोपत्र बोर्डको अनुमितविना ०६४ देखि नै चल्दै आएका थियो । जब पीडित ठगिएको निष्कर्षमा पुगे, त्यसपछि मात्रै प्रहरीमा उजुरी पर्यो ।
देशभर १२ हजार २५९ व्यक्तिमाथि ठगी, ६ अर्बको कारोबार
कमोडिटी मार्केटका नाममा मुलुकभरबाट १२ हजार दुई सय ५९ व्यक्तिलाई ठगिएको छ । जसमध्ये ६८ जनाले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले मेक्स र एचसिसीले १० करोड ७४ लाख १६ हजार पाँच सय ७० रुपैयाँ ठगी गरेको मागदाबी गरेका छन् । बाँकी पीडितको भने प्रहरीमा जाहेरी परेको छैन ।
अनुसन्धान प्रतिवेदनअनुसार कमोडिटी मार्केटका नाममा ठगीधन्दा ०६४ देखि नै चल्दै आएको थियो । त्यसमध्ये सुरुका वर्ष गरिएका कारोबारको कुनै तथ्यांक छैन । पछिल्ला वर्ष गरिएका कारोबार भने प्रहरीले पत्ता लगाएको छ । यस अवधिमा उनीहरूले ६ अर्ब ३८ करोड ५० लाख ५४ हजार तीन सय ४५ को कारोबार गरेको देखिन्छ ।
ग्राहकले विभिन्न मितिमा तीन अर्ब ३८ करोड १४ लाख ९९ हजार एक सय ४७ रुपैयाँ रकम झिकेका छन् भने तीन अर्ब ३५ लाख ५५ हजार एक सय ४७ रुपैयाँ जम्मा गरेका छन् । यसबापत एचसिसीले एक अर्ब ५५ करोड आठ लाख २० हजार सात सय ७८ रुपैयाँ नाफा भएको भन्दै आपसमा बाँडेको छ । अर्काे एक अर्ब १४ करोड ७७ लाख २० हजार नौ सय १७ रुपैयाँ भने कमिसनबापत मेक्स नेपाल र ब्रोकर कम्पनीले लिएको देखिन्छ । कमिसनबापत प्राप्त गरेको रकम एचसिसीले छद्म रूपमा बैंकमा खाता खोली छुट्टै ‘सेग्रेगेट’ खातामा जम्मा गरेका थियो । उक्त रकमको परिमाण ३० करोड ५० लाख १३ हजार चार सय ५२ रुपैयाँ छ ।
सबै गरेर मेक्स नेपाल र एचसिसीले १२ हजार दुई सय ५९ ग्राहकबाट तीन अर्ब ३५ लाख ५५ हजार एक सय ४४ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।