१७८ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या एक सय ७८ पुगेको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत-स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसंघका लागि मलावी गणतन्त्रका राजदूत-स्थायी प्रतिनिधि एग्नेस मेरी चिम्बिरी–मोलान्डेले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कमा एक संक्षिप्त समारोहमा बिहीबार सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे। 

हस्ताक्षरपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै राजदूतले हस्ताक्षर गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

सो अवसरमा दुई राजदूतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विपक्षीय सहयोगलाई मजबुत बनाउन साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए। 

उनीहरूले समूहको साझा हितको संरक्षण र प्रवर्द्धनका लागि संयुक्त राष्ट्र संघलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा समूहका रूपमा अतिकम विकसित देशको भूमिकाबारे पनि छलफल गरेका थिए। नेपालले अर्को महिना मलावीबाट एलडिसीको ग्लोबल समन्वय ब्युरोको अध्यक्षको भूमिका सम्हाल्दै छ।

दक्षिणी अफ्रिकामा अवस्थित, मलावी पनि एक भूपरिवेष्ठित देश हो भने मोजाम्बिक, जाम्बिया र ताञ्जानियासँग यसको सिमाना जोडिएको छ। करिब दुई करोड जनसंख्या रहेको मलावीको कुल क्षेत्रफल एक लाख १८ हजार चार सय ८४ वर्गकिलाेमिटर छ।

नेपाल र मलावी दुवै असंलग्न आन्दोलन (एनएएम), ७७ को समूह, अतिकम विकसित देशहरू (एलडिसिज) र भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसिज) का सदस्य हुन्।
 

सुझावित समाचार