सांसद चन्द्र भण्डारीको हृदयको चाल नर्मल, आत्तिनुपर्ने अवस्था छैन : चिकित्सक

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण
सांसद चन्द्र भण्डारीको हृदयको चाल नर्मल, आत्तिनुपर्ने अवस्था छैन : चिकित्सक

फाइल तस्बिर : नयाँ पत्रिका

सबै पारामिटरहरू नर्मल, तर ४८ घन्टा भेन्टिलेटरमै राखिने

घरमै ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका कांग्रेस नेता एवं गुल्मी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा. चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । बुधबार राति घटनालगत्तै १०:३० बजे कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएका उनलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएपछि बिहीबार मुम्बई लगिएको हो । 

उनको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा आइसियूमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको पछिल्लो अवस्था सामान्य छ । उनका सबै पारामिटरहरू नर्मल रहेको, तर ४८ घन्टा भेन्टिलेटरमै राखिने चिकित्सकले बताएका छन् । 

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले दिएको जानकारीअनुसार सांसद चन्द्र भण्डारीको पछिल्लो अवस्था यस्ताे छ :

गएराति १०:३० वजे डा. सुनील केस्वानीले गरेको परीक्षणपछि दिएको जानकारीअनुसार शरीरमा फ्लुइडको मात्रा डबल गर्ने र शुक्रबार बिहान १०:३० मा पहिलो सर्जरी गरिनेछ ।  दिउँसो १:३० बजे दोस्रो सर्जरी हुनेछ । बढी जलन भएको खुट्टा र हातमा प्लास्टिक सर्जरी गरिएपछि रोग प्रतिरक्षा प्रणाली बढ्ने भएका कारण यसलाई प्राथमिकतामा राखिएको छ। तर, अनुहार सुन्निएका कारण तत्काल अनुहारको प्लास्टिक सर्जरी हुनेछैन। भित्री भागको जलनको उपचारका लागि औषधि जारी राखिएको छ।

गएराति ११:३० को बजे डा. सन्दीप मिस्त्रीले गरेको परीक्षणपछि दिएको जानकारीअनुसार सबै पारामिटरहरू नर्मल रहेको, तर ४८ घन्टा भेन्टिलेटरमै राखिनेछ। गएराति १२:३० बजे डा. अमुलले गरेको परीक्षणपछि दिएको ब्रिफिङअनुसार हृदयको चाल नर्मल रहेको र  एन्टिबायोटिक्स कन्टिन्यु गर्ने र आत्तिनुपर्ने अवस्था नरहेको जानकारी गराइएको कांग्रेस नेता योगराज कँडेलले बताएका छन् । 

सुझावित समाचार