‘ब्याजदर तत्कालै घट्दैन’

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

बजारको ब्याजदर तत्काल घटाउन नसकिने बैंकरहरूले बताएका छन् । बुधबार एक कार्यक्रममा नेपाल बैंकर्स संघले अध्यक्ष सुनिल केसीले बाह्य क्षेत्र अझै दबाबमै रहेकाले तत्काल ब्याजदर घटाउन नसकिने बताएका हुन् । ‘अमेरिका र भारतले हालसालै मात्रै ब्याजदर बढाएका छन्,’ उनले भने, ‘हाम्रोमा पनि इन्धनको मूल्य बढेर आएको छ । बाह्य क्षेत्रमा अझै सुधार आउनसक्ने स्थिति छैन । त्यसैले ब्याजदर घटाइहाल्न सकिँदैन ।’

गत आर्थिक वर्षको तुलनामा बाह्य क्षेत्रमा सुधार देखिए पनि चुनौती अझै कायमै रहेको, सरकारी ढुकुटी समेत ऋणात्मक भएकाले तरलतामा चाप अझै पर्ने उनले बताए । सरकारी ढुकुटीमा राजस्व अपुग भएपछि विदेशी दातृ निकायबाट ऋण ल्याएर वा आन्तरिक ऋण उठाउनुपर्ने हुन्छ । अहिले ऋण कुल गार्हस्थ उत्पादनको ४८ प्रतिशत नाघिसकेको छ । 

त्यस्तै विदेशी ऋण ल्याउनका लागि समय र प्रक्रिया लामो हुने भएकाले तत्कालै सरकारी ढुकुटीको घाटा पूर्ति गर्न   आन्तरिक ऋण उठाउनुको विकल्प नरहेको केसीले बताए । राजस्व बढाउन आयात समेत बढाउनुपर्ने र आन्तरिक ऋण उठाउने कार्यले बजारमा तरलताको चाप अझै बढ्ने संघको अनुमान छ । संघका अनुसार १८ लाख ३३ हजार कर्जा खाता छन् भने चार करोड ८३ लाख २४ हजार निक्षेप खातावालहरू छन् । 

See More On

सुझावित समाचार