प्रतिनिधिसभाका सांसदले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाको ७२ वर्ष पूरा हुँदा पनि नेपाली आधारभूत आवश्यकताकै लागि भौँतारिनुपरेको बताए। धनी र गरिबले पढ्ने दुईथरी विद्यालय अरू कुन देशमा छ भनी उनले प्रश्न गरे।
आर्थिक अवस्था कमजोर हुनेले स्वास्थ्य उपचार गर्न नसक्ने गरी मेडिकल माफियाले काम गरेको, छिमेकी देशमा छोटो समयमा अस्पताल बन्ने गरेको उल्लेख गर्दै नेपालमा क्यान्सर अस्पताल भए पनि परीक्षण गर्ने यन्त्र नभएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए।
एमालेका सांसद योगेशकुमार भट्टराईले सडक दुर्घटनाबाट वार्षिक तीन प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाइरहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए। उनले स्विडेन, जर्मनमा सडक दुर्घटना कम गरिएको उदाहरण सुनाउँदै अन्तर्राष्ट्रियस्तरको चालक अनुमतिपत्रको व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराए।
विकास तथा प्रविधि समितिले सडक दुर्घटना कम गर्न दिएको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनले सडक विभागले बनाएको सडक ठीक छ–छैन भनी जाँच गर्ने छुट्टै निकाय चाहिने माग गरे।
नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीमगरले संघीयता लागू भएको स्थानीय तहमा आवश्यक कर्मचारीको कमी हुँदा स्थानीय जनताले सेवा प्रवाहका कठिनाइ भएको बताए। उनले किसानलाई अनुदानभन्दा सहुलियतको व्यवस्था गरेर किसानका उत्पादनका लागि बजार सुनिश्चित गर्न सके मात्र आत्मनिर्भरमुखी कृषि बनाउन सकिने धारणा व्यक्त गरे।
स्वतन्त्र सांसद हरि ढकालले किसानको मुद्दा सबैले उठाए पनि सरकारले दिने अनुदान वास्तविक किसानले पाउन नसकेको भन्दै वडास्तरमै यसको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विना जैसवालले विगतमा सञ्चालित तर हाल बन्द भएका उद्योग पुनः सञ्चालन गर्न माग गरिन्। यसले एकातिर रोजागारी सिर्जना हुने र अर्कोतिर आयातमा कमी हुने उनको भनाइ थियो।
जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले नागरिकतासम्बन्धी विधेयक संसदबाट दुई-दुईपटक पारित हुँदा पनि राष्ट्रपतिबाट रोकिनु दुःखद भएको बताए। उनले कानुनको अभावमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन नसकेकोप्रति सदनको ध्यानाकर्षण गराए।
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले विगतको सवारी अनुमति चालकपत्रको प्रावधान सच्याई अहिले ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थाले अहिले मुलुकमा दुई मापदण्डका सवारीचालक अनुमतिपत्र भएको उल्लेख गरे।
जनमत पार्टीका सांसद अनिता देवीले मुलुकमा किसानले समयमा मल र बिउ नपाउने तथा सिँचाइको व्यवस्था नहुने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा लाखौँ सवारीसाधन भए पनि ती सवारीसाधनमा प्रयोग हुने इन्धन कहिले पनि कमी नहुने, तर किसानले पैसा तिरेर पनि समयमा मल नपाउने किन भनी प्रश्न गरिन्।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले मुलुकभर जग्गाको कित्ताकाट नखुल्दा जनतालाई मर्का भएको बताउँदै तत्काल कित्ताकाट खोल्न माग गरे।
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा जानकारी गराउँदै राज्यबाट पक्षपातपूर्ण व्यवहार भएको टिप्पणी गरे। उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइप्रति प्रश्न गरे।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मुलुकको स्वाभिमान र राष्ट्रिय अखण्डता खतरामा पर्ने गरी कुनै काम नगर्न सत्तामा रहेका राजनीतिक दलहरूलाई सुझाव दिए।