नयाँ बसपार्कस्थित ल्होत्से मलभित्र प्रवेश गरेर आइतबार अन्धाधुन्ध लुटपाट र चोरी गर्नेमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौैंमा उजुरी दर्ता भएको छ । तीनवटा यातायात मजदुर संगठन (नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात मजदुर संघ)का अध्यक्षलाई विपक्षी बनाई पीडित अर्जुन चालिसेले मंगलबार उजुरी दर्ता गराएका हुन् ।
उनले ल्होत्से मलभित्रका पसलहरू तोडफोड गरी प्रदर्शनकारीले आठ करोडबराबरको सामान लुटपाट गरेको उजुरीमा उल्लेख गरेका छन् । उक्त क्षतिको पूर्ति मागदाबीसहित निवेदन दिएको परिसरले जनाएको छ ।
उजुरीमा आन्दोलनकारीलाई पक्राउ गरी क्षतिपूर्ति भराउन माग गरिएको छ । लुटपाट भएका मलका चारवटा सटरमा ल्यापटप, मोबाइल, टिभीलगायत सामान थिए । दिउँसो चार बजेदेखि साँझ सात बजेको बीचमा पसलभित्र रहेका सबैजसो सामान लुटिएको उजुरीमा उल्लेख छ ।
नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले ती पसलबाट एक सय १० थान ल्यापटप चोरी भएको दाबी गरे । यस्तै, दुई सयभन्दा बढी मोबाइल सेट र १० भन्दा बढी टिभी सेट चोरी भएको उनको भनाइ छ । ‘बाहिरको ताल्चा फोडेर पसलभित्रका सबै सामान चोरी भएका छन्,’ भट्टराईले भने, ‘आन्दोलनका नाममा लुटपाट गर्ने उनीहरूको योजना रहेछ ।’
‘हतियार देखाएर लुटपाट गरियो’
ल्होत्से मलभित्र मोबाइल पसल सञ्चालन गर्दै आएका पीडित सन्तोष चालिसेले एप्पल, एमआई, सामसङ, रेडमी, रियलमीलगायत ब्रान्डका सामान चोरी भएको बताए । ‘हतियार देखाएर पसलभित्र प्रवेश गरेर सामान चोरे, यसको जिम्मा मजदुर संगठनहरूले लिनुपर्छ,’ उनले भने ।
यातायात मजदुर संगठनले नयाँ बसपार्कमा प्रदर्शन सुरु गरेको केहीबेरमै मोबाइल पसलको सिसा र ताल्चा फोडेर प्रदर्शनकारीसहित अन्य व्यक्ति लुटपाटमा लागेका थिए ।
लुटपाटको २४ घन्टा बित्दासमेत कोही पक्राउ परेनन्
घटना भएको २४ घन्टा बितिसक्दा पनि लुटपाटमा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन । परिसरका प्रवक्ता एसपी सीताराम रिजालले उजुरीका आधारमा कारबाही गरिने बताए । उनका अनुसार सिसिटिभी फुटेज र अन्य व्यक्तिहरूले चिखेको फोटो र भिडियोका आधारमा लुटपाटमा संलग्नलाई कारबाही गरिनेछ ।
जिल्ला प्रहरी परिसर काठमाडौं, बालाजु र महाराजगन्ज वृत्तका प्रहरीले फुटेजका आधारमा लुटपाट, चोरी तथा तोडफोडमा संलग्नलाई खोजी गरिरहेको जनाएको छ । ‘लुटपाटमा संलग्नको निगरानी र खोजी सुरु गरिसकेका छौँ,’ उनले भने, ‘चोरी र तोडफोडमा संलग्न सबै पक्राउ पर्छन् ।’ लुटपाट र चोरी पुष्टि भए मुलुकी अपराध संहिताको चोरी र लुटपाटसम्बन्धी कसुरअनुसार कारबाही हुने उनले बताए ।
सहमतिपछि आन्दोलन फिर्ता
सरकारसँग पाँचबुँदे सहमति भएपछि यातायात मजदुर संगठनले यातायात बन्द र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने सहमति भएको हो ।
मजदुर संगठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर संगठनले मंगलबार उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफलमा ट्राफिक जरिवाना घटाउनुपर्नेसहित विभिन्न १० बुँदे संगठनले राखेका थिए ।
छलफलले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिने, ल्होत्से मलभित्र भएको लुटपाटमा संलग्न भएकालाई कारबाही गर्ने, आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष व्यक्तिलाई रिहाइ गर्ने, यातायात सुधारका लागि उच्चस्तरीय यातायात सुधार कार्यालय गठन भएकाले कार्यदल र यातायातसँग सम्बद्ध निकायबीच छलफल गर्ने, काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच भएको सम्झौताका सम्बन्धमा यातायात व्यवस्था विभाग र मन्त्रालयको टोलीले अध्ययन गर्ने र यसबारे संगठनहरूबीच पनि पुनः छलफल गरेर पार्किङ, भाडा तोक्नेलगायत सहमति भएको छ ।