नेपालमा सिमेन्टको उच्च माग हुने सिजन चलिरहेको छ । तर, सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापकीय कमजोरीका कारण दुई सातादेखि बन्द अवस्थामा छन् । दुवै उद्योगले कोइला अभाव र पार्टपुर्जा मर्मतका कारण बन्द गर्नुपरेको जिकिर गरेका छन् । हेटौँडा सिमेन्टका महाप्रबन्धक वसन्त पाण्डेले कोइला अभाव तथा मर्मतका लागि उद्योग १५–२० दिनदेखि बन्द रहेको बताए ।
‘अहिले कोइला अभावले बन्द गरिएको छ । यही वेला पार्टपुर्जाहरू मर्मतसमेत भइरहेको छ,’ उनले भने, ‘पुरानो उद्योग मर्मत गर्दा बन्द गर्नुलाई स्वाभाविक लिनुपर्छ ।’ तर, सिमेन्टको माग उच्च हुने वेला बन्द गरिएका दुवै उद्योग खुल्ने पनि टुंगो छैन ।
अहिले स्टकमा करिब एक हजार टन कोइला रहेको र यो परिमाण दुई हजार टन पुगेपछि सञ्चालनको योजना बनाएको उनले बताए । तर, आपूर्तिकर्ताले भने पुरानो बक्यौता नदिएसम्म थप कोइला उपलब्ध नगराउने जवाफ पठाएको छ ।
हेटौँडा सिमेन्टले कोइलाको बक्यौता २० करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी छ ।
पुरानो बक्यौता नतिरेसम्म नयाँ टेन्डर भएको १७ हजार टन कोइला आपूर्ति नगर्ने ठेकेदारले जवाफ दिइसकेका छन् । महाप्रबन्धक पाण्डेले भने पुरानो बक्यौतालाई यथास्थितिमा राखेर नयाँ कोइलाको भुक्तानी दिने सर्तमा ठेकेदारलाई ‘कन्भिन्स’ गर्ने प्रयत्न भइरहेको बताए । उनले उद्योगलाई पूर्ण क्षमतामा चलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एक अर्ब ६० करोड थप लगानी आवश्यक रहेको कार्ययोजना पेस गरेको बताए ।
‘थप लगानीसम्बन्धी कार्ययोजना सरकारले स्वीकृत गरे उद्योगले नयाँ जीवन पाउँछ,’ उनले भने, ‘अहिले त सञ्चालन खर्च नै धान्न गाह्रो छ ।’ हेटौँडाले उत्पादन गर्दै आएको शक्ति सिमेन्ट प्रतिबोरा सात सय एक रुपैयाँ ७३ पैसा ‘गेट प्राइज’ राखेको छ । तर, यसको उत्पादन लागत प्रतिबोरा करिब आठ सय ५० रहेको महाप्रबन्धक पाण्डेको भनाइ छ ।
बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट पनि कहिले खुल्ने टुंगो छैन । उदयपुुर सिमेन्ट उद्योगमा कार्यरत नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष महावीर चौधरीले व्यवस्थापकीय कमजोरीका कारण उद्योग निरन्तर बन्द रहेको बताए । ‘उद्योग अहिले बन्द छ । कहिले खुल्छ टुंगो छैन । कोइला नै नभएकाले खुलिहाल्यो भने पनि चाँडै बन्द हुने गर्छ,’ उनले भने । तर, महाप्रबन्धक गोपीप्रसाद न्यौपानेले भने धेरै सिमेन्ट उत्पादन हुँदा राख्ने ठाउँको अभाव भएकाले बाध्यतावश बन्द गर्नुपरेको तर्क गरे । मासिक २४ हजार टनसम्म क्लिंकर उत्पादन क्षमता भएको उद्योग वैशाखयता आधा क्षमता पनि चल्न सकेको छैन ।
‘उद्योगमा धेरै सिमेन्ट उत्पादन भएको छ । त्यो राख्ने ठाउँ नै नभएकाले बन्द गर्नुपरेको हो,’ उनको तर्क छ, ‘यही वेला मेसिनरी पार्टपुर्जा पनि मर्मत गर्नुपरेको छ ।’ यद्यपि, उनले बुधबारबाटै उद्योग खोल्ने दाबी गरे । विगतमा पनि ‘भोलिदेखि नै उद्योग खोल्ने’ भन्दै उनी पन्छिँदै आएका थिए ।
बन्द रहेका दुवै उद्योगले सिमेन्ट बिक्री भने जारी राखेका छन् । हेटौँडा सिमेन्टले दैनिक चार हजार बोरा बिक्री गरिरहेको महाप्रबन्धक पाण्डेले बताए । सो उद्योगमा अहिले एक लाख बोरा शक्ति ब्रान्डको सिमेन्ट मौज्दात रहेको उनले बताए । त्यस्तै, उदयपुर सिमेन्टले पनि नियमित बिक्री गरिरहेको महाप्रबन्धक न्यौपानेले बताए । सो उद्योगमा हाल डेढ लाख बोरा सिमेन्ट मौज्दात रहेको उनको दाबी छ ।
कहिलेकाहीँ मात्र खुल्न थाल्यो उदयपुर सिमेन्ट
उदयपुर सिमेन्ट उद्योग यो वर्ष निरन्तर बन्द हुने र कहिलेकाहीँ मात्र खुल्ने गरेको छ । उद्योग प्रशासनले तयार गरेको मासिक प्रगति विवरणअनुसार गत कात्तिकमा ६ दिन खुलेर २४ दिन उद्योग बन्द भएको थियो । त्यस्तै, मंसिरमा १३ दिन खुलेर १६ दिन बन्द भएको उद्योग पुसमा नौ दिन खुलेर २१ दिन बन्द गरिएको थियो । माघमा भने दुई साता मात्रै चलेको थियो । उद्योग यतिवेला पनि बन्द छ ।
गत आर्थिक वर्ष ०७८/७९ मा उतारचढाव व्यहोरेको उद्योग वैशाखदेखि भने निरन्तर ओरालो लागेको हो । मासिक २४ हजार टन क्लिंकर उत्पादन क्षमता भएको उद्योगबाट वैशाखमा पाँच हजार नौ सय ५० टन, जेठमा १० हजार सात सय ३५ टन, असारमा एक हजार नौ सय ८५ टन, साउनमा पाँच हजार पाँच सय ५० टन क्लिंकर उत्पादन भएको छ । त्यस्तै, भदौमा सात हजार ६ सय ५५ टन, असोजमा सात हजार ५५ टन, कात्तिकमा दुई हजार ५१ टन, मंसिरमा ६ हजार २८ टन र पुसमा तीन हजार चार सय ५५ टन मात्र उत्पादन गरेर उद्योग आधा क्षमतामा पनि सञ्चालन गर्न व्यवस्थापन अक्षम भएको छ ।