यस आर्थिक वर्षभित्रै ‘उज्यालो तनहुँ’ घोषणा गरिने

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

विद्युत् प्राधिकरण, तनहुँ वितरण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ । विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागिएको हो ।

देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले विद्युत् विस्तारको कार्य तीव्र गतिमा भइरहेको वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए । उनका अनुसार देवघाटका केही वडामा बाहेक सबै क्षेत्रमा विद्युतीकरण भइसकेको छ । बन्दीपुर– ६ स्थित साराङघाटमा ३३/११ केभी क्षमताको ट्रान्समिटरको काम भइरहेकाले उक्त काम सम्पन्न हुनेबित्तिकै सबस्टेसन सञ्चालनमा ल्याई देवघाट क्षेत्रमा विद्युत् सप्लाई गर्ने योजना रहेको उनले बताए ।

देवघाट गाउँपालिकाको वडा नम्बर १ को जामुने देउसरामा ७५, वडा नम्बर २ को डिहीमा २०, च्यापिङगामा ४०, वडा नम्बर ३ को साविडाँडामा २० र क्वादी फस्टेपानीमा ६० घरमा विद्युत् पहुँच पुर्याउन बाँकी छ । ‘ती वडामा विद्युत् विस्तारका लागि चारवटा विद्युत् खम्बा आवश्यक छ,’ उनले भने ।

त्यस्तै वडा नम्बर ४ मा बजेट माग गरेर टेन्डरमार्फत तार टाँग्ने काम भइरहेको छ । उनले भने, ‘एक–दुई घरमा विद्युत् पुर्याउन धेरै खम्बा आवश्यक पर्ने स्थानमा विद्युत् विस्तार गरिएको छैन ।’ जिल्लामा कुल ४३ हजार विद्युतका ग्राहक छन् । तनहुँ विरतण केन्द्र दमौलीले रु. ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको जनाएको छ ।

०७९ साउन १ देखि पुस मसान्तसम्म रु. ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको छ भने रु. ९० लाख ९० हजार दुई सय ७७ महसुल शुल्क असुली गरिसकेको सो केन्द्रले जनाएको छ ।

सुझावित समाचार