पेट्रोलियम पदार्थ बिक्री गरेबापत पाउने कमिसन बढाउन व्यवसायीहरूले माग गरेका छन् । पेट्रोलियम डिलर्स एसाेसिएसन जनकपुरधामको १५औँ अधिवेशन तथा साधारणसभामा व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।
०७८ सालमा पेट्रोलियम पदार्थ बिक्री गर्दा तोकिएको कमिसन अझै पनि कायम रहेको भन्दै उनीहरूले बढाउन माग गरेका हुन् । साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थामीले कमिसन बढाउने विषयमा निगम गम्भीर रहेको र यो विषयमा बोर्डमा छलफल गरिने आश्वासन दिए ।
कमिसनको समस्या डिलर्स एसाेसिएसनको साझा समस्या रहेको बताउँदै उनले उक्त समस्या समाधान गर्न आफ्नो स्तरबाट पहल गर्ने बताए । धनुषाको महेन्द्रनगरमा रहेको नेपाल आयल निगमले निकट भविष्यमै थप जग्गा प्राप्ति गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने कार्यमा आफू लागेको थामीको भनाइ छ ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले महेन्द्रनगरस्थित डिपोको भण्डार बढाउन आफ्नो स्तरबाट सहयोग गर्ने आश्वास दिए । नेपालसहित विश्व बजारमा अहिले आर्थिक मन्दी रहेको बताउँदै प्रजिअ दाहालले व्यवसायीहरूको समस्याप्रति राज्यले चासो दिएको बताए ।
यता, कार्यक्रममा पेट्रोलियम डिलर्स एसाेसिएसन जनकपुरधामका अध्यक्ष विष्णुदेव साहले महेन्द्रनगर डिपोमा भण्डारण क्षमता कम रहेको, भण्डारण गर्ने ट्यांकी जीर्ण रहेको भन्दै त्यसमा सुधार गर्न माग गरे । पेट्रोलियम पदार्थको मूल्य दिनप्रतिदिन बढ्दै गए पनि आफूहरूले ०७८ सालमा तोकिएकै कमिसन मात्र पाउँदै आएको बताए ।
वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप
पेट्रोलियम डिलर्स एसाेसिएसन जनकपुरधामको १५औँ साधारणसभामा विधान संशाेधनको विषयमा दुई पक्षबीच विवाद हुँदा विधान संशाेधन नभएसम्म वर्तमान कार्यसमितिलाई निरन्तता दिने सहमति भएको छ ।
विधान संशाेधनका लागि इन्जिनियर रत्नकुमार पूर्वेको संयोजकत्वमा तीन सदस्यीय विधान संशाेधन समिति गठन भएको वर्तमान अध्यक्ष साहले बताए ।