रावलले आज विश्वासको मत नपाए मुख्यमन्त्री कांग्रेसको पोल्टामा

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण
रावलले आज विश्वासको मत नपाए मुख्यमन्त्री कांग्रेसको पोल्टामा

राजेन्द्र्रसिंह रावल, मुख्यमन्त्री, सुदूरपश्चिम

नागरिक उन्मुक्तिका सातै सांसद काठमाडौंमै, फर्किने टिकट पनि काटेका छैनन्

बिहीबार दिउँसोसम्म कुनै नाटकीय घटनाक्रम विकास भएन भने सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सरकार बच्ने सम्भावना कमजोर बनेको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलको बिहीबार एक महिना हुँदै छ । सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार रावलसँग बिहीबार प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने वा राजीनामा दिने दुई विकल्प मात्रै बाँकी छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यस्तो मुख्यमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्रीले विश्वासको मत नपाए ठूलो दलको हैसियले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन् । 

आफ्नो पार्टीका नेता रेशम चौधरीको रिहाइ सुनिश्चित नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमै विश्वासको मत दिन नसकिने बताएपछि रावल नेतृत्वको गठबन्धन सरकार धरापमा छ । नागरिक उन्मुक्तिले विश्वासको मत दिने निश्चित नभएपछि बुधबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको थियो । 

मुख्यमन्त्रीको आग्रहमा सभामुख भीमबहादुर भण्डारीले बुधबार दिउँसो १ बजे बोलाइएको बैठक बिहीबारसम्मका लागि स्थगित गरेका छन् । अर्को बैठक बिहीबार दिउँसो १ बजे आह्वान गरिएको छ । बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रस्ताव पेस गर्नेछन् । वा, त्यसअगाडि राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नेछन् । विश्वासको मत नपाए पनि रावल स्वतः पदमुक्त हुनेछन् ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रयोजनका लागि भन्दै बुधबार बैठक आह्वान गरिएको थियो । तर, औपचारिक कार्यसूची थिएन । दिउँसो १ बजे तोकिएको बैठक १२ बजे संसद् सचिवालयले सूचना टाँस गरेर विशेष कारणवश स्थगित भएको जनाएको थियो । यसअघि बुधबार ११ बजे बोलाइएको बैठक दलहरूको परामर्शमा सभामुखले १ बजे सारेका थिए । 

निर्णायक नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य बैठकमै उपस्थित नहुने भएपछि मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित थियो । मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखिएपछि बैठक सारिएको हो । डिल्लीबजार कारागारमा रहेका पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न काठमाडौं पुगेका नागरिक उन्मुक्तिका सातैजना प्रदेश सभा सदस्य बुधबार बेलुकीसम्म धनगढी फर्किएका छैनन् । 

अध्यक्ष रञ्जिता श्रेष्ठ र सातैजना प्रदेश सभा सदस्यसहित कारागारमा मंगलबार भएको बैठकले टीकापुर घटनाका बन्दीलाई रिहा गर्नुपर्ने माग पूरा नभएकाले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक सीमा बिहीबार सकिँदै छ । नागरिक उन्मुक्तिको समेत समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।

नागरिक उन्मुक्तिलाई मनाउने प्रयासका लागि मुख्यमन्त्रीको आग्रहमा बैठक सारिएको हो । नागरिक उन्मुक्ति भने विश्वासको मत दिन तयार भइसकेको छैन । सरकारलाई विश्वासको मत दिनेबारे कुनै सहमति भइनसकेको पार्टीको संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले बताए । टीकापुर घटनाका बन्दीलाई रिहा नगरेसम्म विश्वासको मत नदिने निर्णय यथावत् रहेको उनले बताए । नागरिक उन्मुक्तिका सांसदले बुधबार पनि कारागारमा रेशमलाई भेटेका थिए ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाका एक गरी सत्ता पक्षमा २१ सदस्य छन् । अहिलेकै समीकरणअनुसार सात सदस्य रहेको नागरिक उन्मुक्तिले मत नदिए सरकार अल्पमतमा पर्नेछ । कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्र प्रतिपक्षमा छन् । 

विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी केन्द्रको संसदीय दलका नेता खगराज भट्टले केन्द्रमा शीर्ष नेतृत्व तहमा नागरिक उन्मुक्तिलाई मनाउने कोसिस भइरहेको बताए । अन्तिम समयमा नागरिक उन्मुक्तिले सरकारलाई विश्वासको मत दिने उनले दाबी गरे । ‘काठमाडौंमा शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । सरकारले विश्वासको मत पाउनेमा हामी ढुक्क छौँ,’ उनले भने ।

बैठक स्थगित गरेकोप्रति कांग्रेसको आपत्ति
सरकारको सजिलोका लागि सभामुखले बैठक स्थगित गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलहरूसँग कुनै छलफल नगरी सभामुखले बैठक स्थगित गरेको भन्दै आपत्ति जनाए । विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्रीको निर्देशनमा सभामुखले बैठक स्थगित गरेर सत्तापक्षलाई सघाएको शाहले आरोप लगाए । ‘कुनै छलफल नगरी बैठक स्थगित गरिएकोप्रति हाम्रो आपत्ति छ,’ शाहले भने, ‘यस्तो शैलीले सभामुखलाई भोलिका दिनमा अप्ठ्यारो पर्छ ।’

ओली–श्रेष्ठ वार्ता निष्कर्षहीन

एमाले अध्यक्ष केपी ओली र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच बुधबार राति भएको छलफल विनानिष्कर्ष सकिएको छ । दुई चरणमा भएका छलफलमा ओलीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सघाउन आग्रह गरेका  थिए । तर, नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ हुनुपर्ने पुरानै अडान दोहोर्‍याएको थियो । ओलीले माग सम्बोधनका लागि गम्भीर पहल लिने संकेत नगरेको नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक लक्ष्मण जगेछ्वा थारूले बताए । ‘अहिले सहयोग गर्नुहोस्, रिहाइका लागि पहल गर्छौँ भन्ने पुरानै ढंगका आश्वासन मात्रै दिनुभयो । हामी त्यसमा  सहमत भएनौँ । भोलि (बिहीबार) बिहानसम्म थप के हुन्छ हेरौँ । अहिलेकै अवस्थामा विश्वासको मत दिने सकिने वातावरण बनेको छैन,’ उनले भने । 

सुझावित समाचार