त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर तहको प्रवेश परीक्षा (सिम्याट)मा पाँचवटा प्राइभेट कार्यक्रममा कोटा जति पनि विद्यार्थी पाइएको छैन । एमबिए–मार्केटिङ, एमबिए–कर्पोरेट लिडरसिप, एमबिएम, एमटिटिएम र एमएचएम कार्यक्रममा छुट्याइएको कोटा जति पनि विद्यार्थी नआएका हुन् ।
डिन कार्यालयले २१ माघमा सञ्चालन गरेको सिम्याटको नतिजा मंगलबार सार्वजनिक गरेको छ । सेमेस्टर प्रणालीमा सञ्चालन भएका यी पाँचवटा प्राइभेट कार्यक्रममा कोटाअनुसार विद्यार्थी नपाइएको हो । एउटा संस्थामा ४४ जनाको कोटा निर्धारण भएकोमा सो संख्यामा विद्यार्थीसमेत नपाइएपछि कार्यक्रमको विषयमा समेत बहस हुन थालेको छ । त्रिविको एमबिए–फाइनान्समा भने कोटा पुगेको छ । शंकरदेव, नेपाल कमर्स क्याम्पस र केन्द्रीय विभागमा एमबिए फाइनान्स कार्यक्रम सञ्चालन भएको छ ।
त्रिविको नियमित कार्यक्रम एमबिएसमा भने विद्यार्थीको संख्यामा खासै परिवर्तन आएको छैन । सिम्याटका लागि १७ हजार दुई सय विद्यार्थीले आवेदन दिएकामा १६ हजार पाँच सय उत्तीर्ण भएका छन् । व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्ली शर्माले स्नातकोत्तर तहमा यत्तिको विद्यार्थी आउनु राम्रो भएको बताए । प्राइभेट कार्यक्रममा केही कम भए पनि समग्रमा विद्यार्थी संख्या अघिल्लो वर्षकै हाराहारीमा रहेको उनको भनाइ छ । एमबिए कार्यक्रममा विद्यार्थीको आकर्षण देखिएकाले एमबिएममा कम देखिएको शर्माले बताए । सिम्याटमा पास भएका विद्यार्थी प्राइभेट रूपमा सञ्चालन भएका जुनसुकै कार्यक्रममा भर्ना भएर अध्ययन गर्न पाउने व्यवस्था गरेका कारण आवेदन कम परेका कार्यक्रममा पनि विद्यार्थी थपिने अपेक्षा गरेका छन् ।
हस्पिटालिटी क्षेत्रमा नाम चलेको नाथमले सञ्चालन गरेको मास्टर्स अफ होटेल म्यानेजमेन्ट (एमएचएम) कार्यक्रममा पनि कोटाअनुसारको विद्यार्थी पाएन । नाथममा एमएचएम कार्यक्रम अध्ययनका लागि ३० जनाले प्रवेश परीक्षा दिएको शर्माले बताए । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालन भएका एमएचएम कार्यक्रममा पनि आकर्षण कम छ ।
त्रिविले सञ्चालन गरेका स्नातक तथा स्नातकोत्तर तहका अप्लाइड प्रकृतिका कार्यक्रम महँगा छन् । स्नातकोत्तर तहको नियमिततर्फको एमबिएस अध्ययनका लागि चार सेमेस्टरको ६० हजार रुपैयाँको हाराहारीमा पुग्छ भने प्राइभेट कार्यक्रम एमबिए अध्ययनका लागि आंगिक क्याम्पसमै तीन लाखको हाराहारीमा खर्च हुने गरेको छ ।