सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन मन्त्री शर्मालाई आग्रह

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई आग्रह गरेको छ । मन्त्री शर्मालाई बधाई तथा कार्य सफलताको शुभकामना दिन आयोजित कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेलले संसद्मा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन आग्रह गरेका हुन् । 

आमसञ्चार प्रतिष्ठान, ज्येष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चार क्षेत्रको नीतिगत सुधारका लागि महासंघले दिएको सुझावका आधारमा निर्माण हुनुपर्ने अध्यक्ष पोखरेलको भनाइ थियो । सरकारले सञ्चार क्षेत्रलाई प्रदान गर्दै आएको सहुलियत सञ्चालकले मात्र नभई श्रमजीवी पत्रकारले पनि पाउनुपर्नेमा अध्यक्ष पोखरेलले जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताइन् । ‘प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसकेको छ ।

पुराना कानुनलाई प्रतिस्थापन गर्दै नयाँ सञ्चारसम्बन्धी कानुन सरोकारवालाको प्रत्यक्ष सहभागितामा निर्माण गरिनेछ,’ मन्त्री शर्माले भनिन् । महासंघलगायत सरोकारवाला संस्थाबाट सञ्चार क्षेत्रमा नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव प्राप्त हुन्छ, त्यही आधारमा सुधार गरिँदै लैजाने मन्त्री शर्माको प्रतिबद्धता थियो । 

सुझावित समाचार