चिकेन तन्दुरीले तपाईंको पाचन क्रियामा पनि असर गर्दैन । यसको स्वाद जति मिठो छ, बनाउन पनि त्यति नै सजिलो छ । थोरै सामग्रीको प्रयोग गरेर तपाईंले घरमै स्वादिष्ट चिकेन तन्दुरी बनाउन सक्नुहुन्छ । चिकेन तन्दुरी खान रेस्टुरेन्ट नै धाउनुपर्छ भन्ने छैन । तपाईंले घरमै पनि यो परिकार बनाउन सक्नुहुन्छ ।
सामग्री
चिकेन पाँच सयदेखि सात सय ग्राम
कागतीको रस : एक चम्चा
दही : आधा कप
अदुवाको पेस्ट : आधा चम्चा
लसुनको पेस्ट : आधा चम्चा
रातो खुर्सानी : आधा चम्चा
बेसार : १/४ (चम्चा)
गरम मसला : एक चम्चा
तन्दुरी मसला : एक चम्चा
नुन : स्वादअनुसार
तन्दुरी कलरपिन्च : एक चम्चा
बिर्को लगाउन मिल्ने ननस्टिक डिप प्यान या बाक्लो तावा ।
विधि
सम्पूर्ण मसला हाली चिकेनलाई मोलेर पाँचदेखि सात घन्टा राख्ने, त्यसपछि ननस्टिक प्यान तताएर चिकेनलाई एक–एक गरी डाम्न सुरु गर्नुपर्छ । पानीको मात्रा बिस्तारै सुक्दै जान लागेपछि बिर्कोले छोप्ने अनि बिस्तारै चिकेनलाई फर्काउँदै पकाउने ।
अन्त्यमा तेल तातेर झरिलो बलेपछि गोलचिकेन राख्ने । त्यसमा एक चम्चा घिउ वा बटर हालेर धुप निकाल्ने । त्यसपछि बिर्कोले छोपेर राख्ने । केही समयपछि बिर्को खोल्दा बास्नादार स्मोकी चिकेन तयार भएको पाउनुहुनेछ । त्यसपछि एक चम्चा चाट मसला, निम्बुको रस र आधा चम्चा घिउ हालेर पाकेको चिकेनलाई मोल्ने र पुदिनाको अचारसँग चिकेन तन्दुरी खान सुरु गर्दा हुन्छ ।