बजारमा थरीथरीका सनग्लास पाइन्छन् । धुलो–धुवाँ र सूर्यको विकिरणबाट आँखालाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले हामीले यसको छनोटमा ध्यान दिनुपर्छ । घाममा आँखाको सीधा सम्पर्क नहोस् भन्नका लागि सनग्लासको खरिद गरिने भएकाले अल्ट्राभ्वाइलेट रे प्रोटेक्सन भएका ग्लास मात्रै किन्नुपर्छ ।
कस्तो प्रकाशमा कुन सनग्लास फिट हुन्छ भन्ने जान्न उत्तिकै जरुरी छ । भिजेको सतह (पानी, सडक वा हिउँ)मा प्रकाश रिफ्लेक्सन भएर टल्कँदा आँखालाई असहज हुन सक्छ । त्यस समस्यालाई पोलोराइज्ड सनग्लासले कम गर्छ ।
ड्राइभिङ गरिरहेका वेला अगाडिबाट वा साइडबाट आएको गाडीको प्रकाश टल्कियो भने पनि कतिपयलाई असहज लाग्छ, त्यसलाई कम गर्न पनि धेरैले पोलोराइज्ड ग्लास रोज्नुहुन्छ । केही महँगो भए पनि ड्राइभिङ गरिरहने तथा पानीवरपर धेरै समय बिताउने व्यक्तिका लागि पोलोराइज्ड लेन्स उत्कृष्ट विकल्प हो ।
चर्को घाममा हिँड्दा कालो र ग्रे कलरको सनग्लास लगाउनु उपयुक्त हुन्छ । यी कलरले ब्राइटनेस र ग्लेयरबाट बचाउँछन् । बादल लागेको वा हल्का अँध्यारो भएको दिनमा ब्राउन वा एम्बर कलर राम्रो हुन्छ । यसले कन्ट्रास्ट बढाउँछ । फिसिङ, हाइकिङ, साइक्लिङमा जानेले यो ग्लास लगाउनु राम्रो हुन्छ ।