सुष्मा तामाङले पछिल्लो समयमा आफूलाई नेपालको बक्सिङ इतिहासकै कीर्तिमानी खेलाडीको परिचय बनाएकी छिन् । गत साता थाइल्यान्डको बैंककमा भएको यू–२२ एसियन एमेच्योर बक्सिङ च्याम्पियनसिप (एएसबिसी)मा सुष्माले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । नेपालको बक्सिङमा सुष्माले प्राप्त गरेको पदक अहिलेसम्मकै ठूलो हो । यसअघि नेपाली बक्सरले एसियन लेभलमा केवल कांस्य पदक जितेका थिए । एएसबिसी च्याम्पियनसिपअन्तर्गत ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानी बक्सर फोजिलोभा फार्जाेनासँग ५–० अंकका आधारमा पराजित भइन् । १२ वर्षको उमेरदेखि सुष्मा नियमित रूपमा अहिले पनि नक्साल बक्सिङ क्लबमै प्रशिक्षण लिइरहेकी छिन् । कीर्तिमानी बक्सर सुष्माले नयाँ पत्रिकाकर्मी रमेश सुवेदीसँग बैंककको अनुभव यसरी सुनाइन् ।
१५ दिनको तयारी
विश्व च्याम्पियनसिपको एक प्रतियोगितामा सुनियोजित रूपमा मलाई हराइयो । त्यसपछि अन्तर्राष्ट्रियस्तरको बक्सिङमा केही गर्छु भन्ने प्रण गरेँ । योजनाअनुसार मिहिनेत गर्दै गएँ । दीपक गुरु (महर्जन)लगायतले सधैँ खेल्न हौसला दिनुभयो । उहाँहरूले राम्रो अभ्यास गराउनुभयो । बैंककमा प्रतिस्पर्धा गर्नुअघि मैले केवल १५ दिनको अभ्यास गरेकी थिएँ । प्रतिस्पर्धामा सहभागी हुन दुई दिनअघि हामी थाइल्यान्ड पुग्यौँ । खेलको ड्र आउँदा मैले क्वार्टरफाइनलमा भियतनामकी फाम थी क्युनहानसँग खेल्नुपर्ने तय भयो ।
विश्व च्याम्पियनसिपमा नियतवश पराजित भएपछि मैले स्पाइरिङमा जोड गरेकी थिएँ । संयोगले भियतनामकी खेलाडीसँग पहिला नै स्पाइरिङ भइसकेको थियो । बैंककमा कम्तीमा नेपाललाई एउटा पदक दिलाउनुपर्छ भन्ने मनमा थियो । यसअघि मैले एसियन लेभलमा पदक जितेकी थिइनँ । कतिपय प्रतियोगितामा सधैँ खाली हात फर्केको अवस्था थियो । किन हो, यसपालि भने नेपाल फर्कंदा पदक साथमा हुने विश्वास थियो । फाम थीविरुद्ध धेरै आँट देखाएँ । रिङमा मज्जाले खेलेँ र जितेँ पनि । उनीविरुद्धको दोस्रो चरणमा एउटा काउन्ट आयो । अन्तर्राष्ट्रिय खेलमा भियतनामको जस्तो खेलाडीविरुद्ध काउन्ट दिँदा गौरवान्वित भएँ । काउन्ट हुँदा विपक्षी खेलाडीको अंक घट्यो र मेरो बढ्यो । क्वार्टरफाइनलमा मैले जस्तो रणनीति बनाएकी थिएँ, त्यहीअनुसार नतिजा पनि आयो ।
सेमिफाइनलमा किन हो मंगोलियन खेलाडी मसँग डराएको जस्तो पाएँ । अझ रिङमा जानुअघि नै उनी निकै डराएको जस्तो देखेँ । मलाई यसको मनोवैज्ञानिक रूपमा फाइदा भयो ।
रिङ छिर्नुअघि नै प्रतिद्वन्द्वी डराए
च्याम्पियनसिपको सेमिफाइनल भिडन्त मंगोलियन खेलाडी बाइसेनवाई जनारगुलीसँग थियो । अन्तर्राष्ट्रिय बक्सिङमा म मंगोलियन खेलाडीसँग पराजित भइसकेकी थिएँ । यो प्रतियोगिताका लागि एउटा निश्चित लक्ष्यका साथ बैंकक पुगेकी थिएँ । यसले पनि मंगोलियन जुनारगुलीलाई जसरी पनि हराउनुपर्छ भन्ने थियो । उनलाई हराउन निकै मिहिनेत गरेँ । सेमिफाइनलमा किन हो मंगोलियन खेलाडी मसँग डराएको जस्तो पाएँ । अझ रिङमा जानुअघि नै उनी निकै डराएको जस्तो देखेँ । मलाई यसको मनोवैज्ञानिक रूपमा फाइदा भयो । जुनारगुलीले क्वार्टरफाइनलमा मैले भियतनामी खेलाडीविरुद्ध खेलेको खेल हेरेकी रहिछिन् । सम्भवतः मेरो खेलको स्तरबारे थाहा भएको हुनुपर्छ ।
बिहान मेडिकल चेकअप भइरहँदा जुनारगुलीले ‘तामाङ सुष्मा, तामाङ सुस्मा, भनिरहेको सुनेँ । एक प्रतिद्वन्द्वीले प्रतिस्पर्धीको प्रशंसा गरिरहँदा खुसी नै लाग्यो । नेपाली खेलाडीको शक्ति देखेर डराउन थालेछन् भन्ने लाग्यो । रिङमा जानुअघि नै मैले मानसिक रूपमा उनलाई ५० प्रतिशत हराइसकेकी थिएँ । पहिलो चरण ३–२ ले जितेँ । दुई अफिसियल उनैको पक्षमा थिए । तर, दोस्रो चरणमा मेरो खेल निकै राम्रो भयो । दोस्रो चरणमा मैले दुई काउन्ट दिएँ । रेफ्रीले दोस्रो चरणमा नै रोक्दै जुनारगुलीलाई निकाले । खेलमा मैले आरएससी (रेफ्री स्टप अफ कन्टेस्ट)का आधारमा जितेँ । तर, सेमिफाइनल खेलिरहँदा मेरो खुट्टामा अचानक चोट लाग्यो । यद्यपि, सेमिफाइनलमा मैले चाहेजस्तो प्रदर्शन गर्न सकिनँ । घाइते नहुँदा नतिजा योभन्दा पनि राम्रो हुन सक्थ्यो ।
खेल समाप्तिपछि मलाई सबैले बधाई दिए । एसियन च्याम्पियनसिपमा फाइनल पुग्ने पहिलो खेलाडी बन्दा गौरव लाग्यो । मलाई मेरो ऐतिहासिक सफलताबारे खासै जानकारी थिएन । गुरुहरूले मलाई कीर्तिमान रचेको बताउनुभयो । यसले पनि ममाथिको जोस बढ्दै गयो । फाइनल खेल्नुअघि तीन दिन विश्राम थियो । त्यसवेला सामाजिक सञ्जालमा उपलब्ध नै भएन । यसबीचमा कसैसँग पनि बोलिनँ । मैले छलफल र कुराकानी केवल गुरुसँग मात्रै गरेँ । फाइनलमा जित्दा इतिहास बन्ने थाहा थियो । यसै कारण अभ्यासमै केन्द्रित भएँ ।
चोट बोक्दै फाइनल खेल्न रिङमा
तीन दिनको विश्रामले पनि मेरो चोट शतप्रतिशत निको भएको थिएन । फाइनलमा उज्वेकिस्तान प्रतिद्वन्द्वीविरुद्ध टेप लगाएर खेलेकी थिएँ । गुरुहरूले भिडन्तअघि निकै मनोबल बढाउनुभयो । उहाँहरूले उज्वेकिस्तानी खेलाडीबारे अध्ययन गर्नुभएको थियो । विपक्षी खेलाडी चाँडो–चाँडो खेल्छ भन्ने थाहा भयो । उनी काउन्टरमा फास्ट थिइन् । विपक्षी लेफ्ट टी भएकाले राइटबाट खेल्नुपर्छ भन्नुभयो । रिङमा प्रवेश गर्नुअघि केही सोच्दिनँ । सबै रणनीति रिङभित्र बन्छ । रिङभित्र आफूले सिकेको र गुरुहरूले सिकाएको नबिगार्ने भन्ने योजनाका साथ प्रतिस्पर्धा गर्छु । अनि विपक्षी जस्तो भए पनि डराउनुहुन्न भन्ने थियो ।
यद्यपि, गुरुहरूले रिङभन्दा बाहिरबाट दिएको निर्देशनभित्र केही पनि सुनिँदैन । धेरैजसो ट्रिक आफ्नो दिमागले लगाउनुपर्छ । तर, गुरुहरूले बोलेका शब्द निकै महत्वपूर्ण हुन्छन् । फाइनलमा पहिलो चरण राम्रो हुँदाहुँदै पराजित भएँ । दोस्रो चरण खराब प्रदर्शन हुँदा तेस्रो चरणमा फर्कने अवसर नै पाइनँ । फाइनल राउन्डमा नकआउट गर्नुबाहेक अन्य विकल्प थिएन । गुरु (दीपक)ले अगाडि बढेर खेल भन्नुभएको थियो । म सफल भइनँ । नेपाललाई ऐतिहासिक रूपमा स्वर्ण दिलाउन नसक्दा दुःखी छु । तर, फाइनलसम्मको यात्राको विश्लेषण गर्दा अत्यन्तै खुसी छु । रमाइलो पक्ष के रह्यो भने फाइनलपछि उज्वेकिस्तानी खेलाडीले ‘तिमी प्रतियोगिताको सर्वाेत्कृष्ट प्रतिद्वन्द्वी’ भनेकी थिइन् ।
बधाईको ओइरो
प्रायःजसो खेलमा विजयी भएका खेलाडीलाई बधाई दिने चलन छ । तर, त्यस दिन मैले सबैबाट बधाई पाएँ । बैंककमा रहनुभएका सबै पदाधिकारीले बधाई दिनुभयो । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव सर (टंकलाल घिसिङ)ले बधाई दिनुभयो । प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड)ले सामाजिक सञ्जालबाट बधाई दिनुभयो । सदस्य सचिवज्यूले सेमिफाइनल जित्दा र फाइनल हार्दा दुवैपटक फोन गर्नुभयो । बैंककको अनुभवबाट धेरै पक्ष सिक्ने अवसर पाएँ । आउँदा दिनमा अझै धेरै गर्न बाँकी र मिहिनेत गर्नुपर्ने महसुस भएको छ । नेपालबाहिरका खेलाडी २२–२४ वर्षमा विश्व च्याम्पियन हुन्छन् । यदि नेपालमा राम्रो व्यवस्थापन भए हामी त्यही स्तरमा पुग्न सक्छौँ । अबको लक्ष्य भनेको आसन्न एसियन गेम्स र ओलम्पिकमा राम्रो गर्नुपर्छ । मलाई घरपरिवारबाट पनि धेरै समर्थन छ ।