नवनियुक्त प्रशिक्षक सियन डिचेकोे आगमनसँगै एभर्टनले इंग्लिस प्रिमियर लिग फुटबलमा लय समात्ने संकेत गरेको छ । शनिबार घरेलु मैदान गुडिसन पार्कमा एभर्टनले शीर्ष स्थानको आर्सनललाई १–० ले पराजित गरेको छ । फ्राङ्क लाम्पार्डको बर्खास्तीपछि डिचे अघिल्लो सोमबार गुडिसन पार्क आएका थिए ।
आर्सनलविरुद्धको जितसँगै एभर्टन रेलिगेसन क्षेत्रबाट माथि उठेको छ । २१ खेलबाट १८ अंक जोडेको एभर्टन १७औँ स्थानमा छ । पछिल्लो ११ खेलमा एभर्टनले पहिलो जित निकालेको हो । हारका बाबजुद आर्सनल २० खेलबाट ५० अंकसहित शीर्ष स्थानमा यथावत् छ । समान खेलबाट म्यानचेस्टर सिटी ४५ अंकसहित दोस्रो स्थानमा छ । सिटीले आइतबार टोटनह्यामको सामना गर्दै छ ।
प्रशिक्षक डिचेले समर्थकको साथ जित निकाल्न सफल भएको र बाँकी खेलमा अझै मिहिनेत गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । ‘हामीसँग समर्थक धेरै हुँदा सहज भयो । हामीले राम्रो सुरुवात गरेका छौँ । बाँकी खेलमा अझै मिहिनेत र सुधार गर्नुपर्नेछ ।’
एभर्टनको जितमा जेम्स तार्काेस्कीले दोस्रो हाफमा गोल गरेका थिए । ड्वाइट म्याकनीले कर्नरबाट मिलाएको बललाई तार्काेस्कीले गोलमा परिणत गरे । खेलमा एभर्टनले निकै सुधारिएको प्रदर्शन ग¥यो । स्ट्राइकर डोमिनिक काल्भर्ट लेविनले पाएको अवसर गुमाउन पुगे । आर्सनल भने फिनिसिङमा चुकेको थियो । केही अवसर बनाए पनि एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले उत्कृष्ट प्रदर्शन गर्दा आर्सनलले हार टार्न सकेन । यही खेलमार्फत जर्जिनियोले आर्सनलका लागि डेब्यु गरेका छन् । जर्जिनियो यही जनवरी ट्रासन्फर विन्डोमा चेल्सीबाट आर्सनलमा अनुबन्ध भएका थिए ।