गत १० माघमा गएको भूकम्पका कारण गौमुल गाउँपालिकाका स्थानीय बिचल्लीमा परेका छन् । गौमुल गाउँपालिका– २ आग्रका १२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । भूकम्पबाट पूर्ण क्षति भएका १२ परिवार अहिले घरबाट एक किलोमिटर टाढा रहेको धर्मोदय प्राथमिक विद्यालयको मैदानमा पाल टाँगेर बस्न बाध्य छन् ।
विस्थापित परिवारका लागि गाउँपालिकाले केही त्रिपाल, कम्बललगायतका सामग्री वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष सीता थापा रोकायाले बताइन् । भूकम्पले गौमुलका सबै बस्ती जोखिममा रहेको र घर बस्नलायक नभएको उल्लेख गरिन् ।
भूकम्पपीडित परिवारका लागि सरकारी तथा गैरसरकारी संघसंस्थासँग समन्वय गरी छिटोभन्दा छिटो पुनर्स्थापित गर्ने पहल भइरहेको उनको भनाइ छ । गाउँपालिकामा एक हजार ६ सय ५० परिवारमध्ये पाँच सय ७० परिवारका घर जोखिममा छन् ।गौमुल गाउँपालिका– २ का सबै बस्तीका घर चर्किएर बस्न नमिल्ने भएका छन् । बाहिरबाट हेर्दा राम्रो देखिए पनि घरभित्र भने धुजाधुजा भएको भूकम्पपीडित कलक चँदाराले बताए। ‘भूकम्पबाट विस्थापित भएर खुला आकाशमुनि बसेको एक साता बितिसक्दासमेत सरकार बेखबर भएको छ,’ उनले भने ।
विद्यालयको प्रांगणमा त्रिपाल टाँगेर बस्ने परिवारमा एकजना गर्भवती, एकजना पूर्ण अपांगता भएका, आठजना पाँच वर्षमुनिका बालबालिका र २० जना १५ वर्षमुनिका बालबालिका रहेको सिर्जना चँदाराले बताइन् ।.jpg'_'.2023-02-04.jpg)
गौमुल गाउँपालिका– २ का जडे गाउँ, आगर, दहकोट, गताडी, गुम्फाकाडा, जुरेली र रनेडालगायतका बस्तीमा भूकम्पले असर गरेको छ । जुरेली, दहकोट, आगरलगायतका ठाउँमा जमिन चिराचिरा परेका छन् । त्यहाँका सबै स्थानीय पाल र तरकारीका लागि बनाएका टनेलमा बस्दै आएका छन् ।
जडे गाउँका १८ परिवार, आगर गाउँका २५ परिवार, दहकोटका ३३ परिवार, गताडी टोलका ६ परिवार, गुम्फाकाँडा बस्तीका १८ परिवार, जुरेलीका २५ परिवार र रनेडाका ४० परिवार अहिले पालमा बस्दै आएको गौमुल– २ का वडाध्यक्ष देवबहादुर रोकायाले बताए । भूकम्पमा परी जमुना रोकायाको मृत्यु भएको थियो । घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लाग्दा उनको मृत्यु भएको थियो ।.jpg'_'.2023-02-04.jpg)