युनाइटेड अरब इमिरेट्स (युएई) मा व्यवसाय गरिरहेका नेपाली व्यवसायीको संस्था नेपाली बिजनेस काउन्सिल दुबईले ‘नेटवर्किङ डिनर’ आयोजना गरेको छ ।
बिहीबार दुबईको बिजनेस वेस्थित आइरिस बेमा सम्पन्न कार्यक्रममा युएईमा व्यवसाय गरिरहेका नेपाली व्यवसायीसहित भारत, श्रीलंका, बंगलादेश र फिलिपिन्सका बिजनेस काउन्सिलका प्रतिनिधिको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपालका लागि युएईका पूर्वराजदूत साइद हम्दान अल नक्बी पनि उपस्थित थिए।
कार्यक्रममा बोल्दै नक्बीले आफ्नो ६ वर्षको कार्यकालको नेपाल बसाइ अत्यन्तै अविस्मरणीय रहेको बताए । नेपाल प्राकृतिक रूपमा संसारकै सुन्दर देश रहेको भन्दै उनले नेपालीको प्रशंसा गरे ।

नेपाली बिजनेस काउन्सिलका अध्यक्ष असिफ अली सिद्दिकीले ए–आपसमा चिनजान र पारस्परिक सहयोगका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष सिद्दिकीले युएईमा रहेका नेपाली व्यवसायी, सामाजिक अभियन्ता र अन्य देशका व्यवसायीबीच अनुभव आदान–प्रदान र सहकार्य गर्ने अवसर प्राप्त भएकाले कार्यक्रम उपलब्धिमूलक रहेको बताए ।
कार्यक्रममा विभिन्न देशका बिजनेस काउन्सिललाई मायाको चिनो प्रदान गरिएको थियो । नेपाली समाज युएई र नेपाल पत्रकार महासंघ युएई शाखालाई सामाजिक कार्यमा पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो ।