शब्द चयन, समयको सीमा, शून्य समयको महत्व, सभ्य पोसाक छनोट, नियमापत्ति, सभामुखसँग समयको माग, अनुशासन, संसदीय निगरानी, अनुगमनमा अनुसन्धान गर्नुपर्ने ज्ञान प्राप्त
संसदीय प्रक्रियाको अभ्यास थालेका प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले संसद्मा पालन गर्नुपर्ने मर्यादा सिकेका छन् । संघीय संसद् सचिवालयको संसदीय प्रशिक्षण शाखाले उनीहरूलाई विज्ञहरूमार्फत ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयमा प्रशिक्षण दिएको हो ।
४ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभामा आधाभन्दा बढी नयाँ सदस्य चुनिएर आएका छन् । पाँचवर्षे कार्यकालका लागि आएका अधिकांश सदस्य संसदीय प्रक्रिया र मर्यादाबारे स्पष्ट रूपमा जानकार छैनन् । प्रशिक्षणबाट संसद्को प्रक्रिया र ख्याल गर्नुपर्ने मर्यादाबारे ज्ञान प्राप्त भएको सहभागी सदस्यहरूले बताएका छन् । संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वउपसभामुख पुष्पा भुसाल, वरिष्ठ अधिवक्ता एवं संविधानसभा सदस्य खिमलाल देवकोटाले विगतको अनुभवसहित संसदीय मर्यादा, प्रक्रिया र अभ्यास, सांसदको भूमिका, संसदीय समिति प्रणाली, अभ्यास र संसदीय निगरानीसम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा प्रतिनिधिसभाका अधिकांश सदस्य सहभागी थिए ।
संसद्को गरिमा उँचो बनाउन सभामुख घिमिरेको आह्वान

सभामुख देवराज घिमिरेले संसद्को गरिमा, संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आह्वान गरे । उपसभामुख इन्दिरा रानाले संसद्को गरिमालाई उँचो बनाउन सांसदहरूको प्रभावकारी भूमिका हुने उल्लेख गर्दै संसद्मा आफूले सक्रिय भूमिका निभाउन चाहेको बताइन् ।
प्रशिक्षणमा सहभागी सांसद के भन्छन् ?
दयालबहादुर शाही, बाजुरा
बाजुराबाट प्रतिनिधित्व गरेका दयालबहादुर शाहीले संसद्मा मर्यादित हुनुपर्ने शिक्षा पाएको बताए । ‘अलिकति मर्यादाको कुरा थपियो । नेपालमा असल मान्छे बन्नु ठूलो कुरा हो, सांसद बन्नु ठूलो होइन,’ उनले भने, ‘जिम्मेवार, मर्यादित शब्द चयन आदि–इत्यादिमा ध्यान दिनुपर्ने रहेछ ।’ संसद्, संसदीय समितिको प्रभावकारिता, संसदीय अनुगमनबारे पनि जानकारी मिलेको उनको भनाइ छ ।
उर्मिला थेबे, ताप्लेजुङ
ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने उर्मिला थेबेले शून्य समय, विशेष समयमा बोल्ने कुरा, संसदीय अनुगमन, सरकारलाई उत्तरदायी बनाउनेबारे जानकारी पाएको बताइन् । ‘म नयाँ आएको थिएँ । संसदीय अभ्यास र मर्यादाबारे धेरै अनुभव थिएन । यो तालिमले संसद्मा मेरो भूमिका सक्रिय र मर्यादित हुन्छ,’ उनले भनिन् ।
सीता मिजार, नुवाकोट
नुवाकोटबाट प्रतिनिधित्व गर्ने सीता मिजारले सिकाइ व्यावहारिक र प्रभावकारी भएको सुनाइन् । ‘कतिपय कुरा नजानेका रहेछौँ । बोल्दा कुन समयमा के कुरा राख्ने भन्ने पनि थाहा थिएन । समितिमा कसरी प्रस्तुत हुने, कस्तो तयारी गर्ने, जीवनशैली कसरी सुधार गर्ने, सार्वजनिक व्यक्ति भएकाले बोल्दा, खाँदा ध्यान दिनुपर्ने, बोल्ने शैली, शब्द चयन, मानमर्यादा कायम गर्ने कुरा सिकियो,’ उनले भनिन्, ‘धेरै ज्ञान प्राप्त भएको छ । हामी एउटा खालको उच्चतम अनुशासनमा रहनुपर्छ । हामीले आफ्नो कुरा समयमा राख्नुपर्ने, समयको सीमा बुझ्नुपर्ने रहेछ ।’
तारा लामा तामाङ, कञ्चनपुर
कञ्चनपुर १ बाट निर्वाचित तारा लामा तामाङले मर्यादाभित्र रहने, बजेट बनाउने, सरकार बनाउने, जनताको आवाज सदनमा उठाएर सरकारलाई झकझक्याउने र नियमन गर्नेबारे जानकारी पाएको बताए ।
मैना कार्की, जाजरकोट
जाजरकोटबाट प्रतिनिधित्व गर्ने मैना कार्की रावलले संसद्मा बोल्दा शब्द र समयसीमाको हेक्का राख्नुपर्ने, शून्य समयमा तथ्यांकमा टेकेर संक्षिप्त तर महत्वपूर्ण विषय बोल्नुपर्ने, मर्यादा कायम राख्नुपर्ने महसुस भएको बताइन् । ‘बाहिर मञ्चमा बोल्दा शब्द र समय हेक्का राख्दैनथ्यौँ । यहाँ पूर्वतयारी गर्नुपर्ने रहेछ भन्ने महसुस भयो । मेरो जिल्लाको के समस्या छ, कानुन निर्माणमा भूमिका के हुने भन्ने अध्ययन गरेर बोल्नका लागि तयार गर्नुपर्ने रहेछ । सांसदले कहाँ–कहाँ भूमिका खेल्नुपर्छ भनेर बुझ्यौँ,’ उनले भनिन् ।
विना लामा, धादिङ
धादिङबाट प्रतिनिधित्व गर्ने विना लामाले शून्य र विशेष समयको महत्व राम्रोसँग बुझ्न पाएको बताइन् । ‘नयाँहरूले प्रयोग गर्ने शब्द र संयमित हुने कुरा, नियमापत्ति कसरी गर्ने भन्ने बुझ्यौँ । प्रशिक्षणमा एक मिनेटमा कसरी महत्वपूर्ण कुरा उठान गर्ने भन्ने बुझेँ,’ उनले भनिन्, ‘दुई–चार दिनको अभ्यासमा अलिअलि बुझेकै थियौँ । प्रशिक्षणबाट प्रस्ट बुझेँ । ड्रेस कोडलगायत विषयमा स्पष्ट भयौँ । सुनेर मात्र सबै बुझिँदैन, अभ्यासबाट थप बुझ्दै जाने हो ।’ प्रशिक्षण एकोहोरो भएको भन्दै आगामी दिनमा अन्तक्र्रियात्मक गरेमा थप बुझ्ने मौका पाउने सांसद लामाको सुझाब छ ।
जावेदा खातुन, बर्दिया
बर्दियाबाट प्रतिनिधित्व गर्ने जावेदा खातुन जागाले सदनमा बस्ने तरिका, सभामुखसँग कसरी कुरा गर्ने, बीचमा नबोल्ने, अनुशासनको कुरा, आफ्नो क्षेत्रको विषय कसरी उठाउने, के बोल्ने भन्ने सिकेको बताइन् ।
कान्तिका सेजुवाल, जुम्ला
जुम्लाबाट प्रतिनिधित्व गर्ने कान्तिका सेजुवालले नियमावली र अन्य पुस्तकको अध्ययन, प्रतिपक्षी भूमिका, संसद्को क्यालेन्डरलगायत विषयमा जानकारी पाएको बताइन् ।
को–को थिए प्रशिक्षक ?
संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वउपसभामुख पुष्पा भुसाल, वरिष्ठ अधिवक्ता एवं संविधानसभा सदस्य खिमलाल देवकोटा
डा. रोजनाथ पाण्डे, सचिव, संसद् सचिवालय
संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले प्रशिक्षणले संसदीय अभ्यास र मर्यादाको आधारभूत जानकारी दिन र प्रभावकारी ढंगले भूमिका निभाउन सांसदहरूलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरे । बिहीबारदेखि सुरु भएको दुईदिने प्रशिक्षणमा बजेट निर्माणमा सांसदको भूमिकाका विषयमा पूर्वअर्थमन्त्री युवराज खतिवडा र कानुन निर्माण प्रक्रियामा कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल, सार्वजनिक नीति र विधेयकमा नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती र संसद् सचिवालयको सांगठनिक संरचना र सेवा प्रवाहमा सचिव पाण्डेले प्रस्तुति दिनेछन् ।