नेपाल भलिबल संघ (एनभिए)ले सेन्ट्रल एसियन महिला भलिबल च्यालेन्ज कप आयोजना गर्ने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले नेपाललाई १० टोली सहभागी हुने प्रतियोगिता आयोजनाका लागि जिम्मेवारी सुम्पिएको हो । एनभिए अध्यक्ष जितेन्द्र चन्दले प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको पुष्टि गरेका छन् । ‘हामीलाई काभाले महिला भलिबल प्रतियोगिता आयोजनाका लागि स्वीकृति दिएको छ,’ चन्दले भने । काभाले स्वीकृतिसँगै एनभिएले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग आयोजनाको स्वीकृति मागेको छ ।
प्रतियोगिता राखेप कभर्डहल त्रिपुरेश्वरमा हुनेछ । ‘हामीले राखेपसँग स्वीकृतिपत्र मागेका छौँ । पत्र आएपछि तयारीमा लाग्नेछौँ,’ उनले भने । उनका अनुसार प्रतियोगिता ६ देखि १६ जेठसम्म आयोजना हुनेछ । चन्द एनभिए नेतृत्वमा आएपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।
महासचिव रोशन श्रेष्ठका अनुसार प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता हुनेछ । दक्षिण एसियाबाट नेपालसहित भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तानको सहभागिता हुनेछन् । यसैगरी, उज्वेकिस्तान, ताजकिस्तान, कीर्गिस्तान र तुर्कमेनिस्तानको सहभागिता रहने श्रेष्ठले जानकारी दिएका छन् ।
शेरबहादुर स्मृति शनिबारबाट
छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा साबिक विजेता विभागीय नेपाल एपिएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी, न्यु डायमन्ड युथ स्पोर्टस्, गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लबले भाग लिनेछन् ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइनेछ । २४ माघसम्म आयोजना हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सञ्चालन हुनेछ । प्रतियोगिताका विजेता टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् ।
विधागततर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछन् । एक उदीयमान खेलाडी १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित हुनेछन् । उद्घाटन खेलमा एकजना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गरिने आयोजकले जनाएको छ ।