भासिएर अलपत्र परेको कमला पुल पुनःनिर्माण गर्न माग गर्दै प्रदर्शन

मंगलबार, १७ माघ, २०७९
डिजिटल संस्करण

हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुल पुनःनिर्माणको माग गर्दै सिराहामा प्रर्दशन भएको छ। हुलाकी सडक संघर्ष समितिले भासिएको पुल बनाउन दबाबस्वरूप प्रर्दशन गरेको हो।

भासिएको पुल निर्माण रोकिँदा प्रदेश राजधानी जनकपुरधाम जान यस क्षेत्रका नागरिकलाई तीन गुणा लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको संघर्ष समितिका संयोजक रामरिझन यादवले बताए। रिले अनसन, हुलाकी सडकमा पैदल यात्रा, अन्तर्क्रियालगायतका दबाबमूलक कार्यक्रम गर्दै आए पनि सरकारले पुल पुनःनिर्माणमा कुनै ध्यान नदिएको संयोजक यादवको भनाइ छ।

कमला नदीमा ११ वर्षअघि २०६८ सालदेखि पुल निर्माण सुरु भएको थियो। पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्सले संयुक्त रूपमा लिएका थिए। तीन वर्षमा सक्नुपर्ने पुल ६ वर्ष भइसक्दा पनि पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न नगर्दा हुलाकी सडक निर्देशनालयले जेभीका अर्का साझेदार लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी दिएको छ।

लुम्बिनी बिल्डर्सले ९५ प्रतिशत काम सम्पन्न गरी पुल उद्घाटनको तयारी गरिरहँदा १९ महिनाअघि २०७८ असार १७ मा बाढीले पाया भासिएको थियो। त्यसको चार महिनापछि अर्को पाया पनि भासियो। जसले गर्दा सिराहा र धनुषा जोड्ने पुल अहिले अलपत्र अवस्थामा छ।

सुझावित समाचार