राजर्षि जनक कपको सातौँ संस्करण माघ २५ गतेबाट सुरु हुने भएको छ । आइतबार आयोजक बागमती युवा क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा प्रतिष्ठित १२ वटा क्लबले सहभागिता जनाउने भएका छन् । प्रदेशमै सर्वाधिक पुरस्कार राशि रहेको यस प्रतियोगिताको विजेताले १० लाख र राजर्षि रनिङ सिल्ड तथा उपविजेताले पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।
‘पर्यटन प्रवर्द्धन तथा संस्कृतिको संवर्द्धन’ भन्ने नारासहित सञ्चालन हुन लागेको प्रतियोगिताको अनुमानित लागत ९८ लाख रहेको क्लबका महासचिव सागर मैनालीले जानकारी दिए । यस प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब र एपिएफ क्लब, ए डिभिजनको मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड ललितपुर सहभागी हुने भएका छन् ।
यस्तै, मोफसलका चर्चित एवं साबिक विजेता पिप्ले युवा क्लब हेटौँडा, सुदूरपश्चिम– ११ धनगढी, धरान फुटबल क्लब धरान, नवजनजागृति फुटबल क्लब सिमरा, पाहुना टोली युनाइटेड किङडम फुटबल क्लब दार्जलिङ र आयोजक बागमती युवा क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
बागमती नगरपालिका खेलकुद विकास समितिसमेत आयोजक रहेको यस प्रतियोगिता बागमती– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सञ्चालन हुनेछ । स्थानीय खेल क्षेत्र तथा उदाउँदा खेलाडीको प्रोत्साहनस्वरूप सुरु भएको यस प्रतियोगितामा बागमतीका एक उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।