अब व्यवसायीले सेवा शुल्क लिन नपाउने

बिहिबार, १२ माघ, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतको संवैधानिक इजलासले वस्तु तथा सेवाको मूल्यमा थप ‘सेवा शुल्क’ लिन नपाउने फैसला गरेको हो

कुनै पनि व्यवसायी अब सेवा शुल्कको नाममा थप रकम लिन नपाउने भएका छन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले वस्तु तथा सेवाको मूल्यमा थप ‘सेवा शुल्क’ लिन नपाउने फैसला गरेको हो ।

राष्ट्रिय उपभोक्ता मञ्चको तर्फबाट अध्यक्ष प्रेमलाल महर्जनले २३ जेठ ०७५ मा व्यावसायिक संस्थाले लिने सेवा शुल्कका विरुद्ध रिट दायर गरेका थिए । महर्जनले आफ्नो लागत र त्यसमा मुनाफा जोडेर उत्पादनको मूल्य कायम गरिसकेपछि कुनै पनि बहानामा थप रकम लिन नपाउने दाबी गरेका थिए । सर्वोच्च अदालतको बुधबारको फैसलासँगै श्रम ऐन, २०७४ को ८७(३) र श्रम नियमावली, २०७५ को नियम ८२ खारेज हुने भएका छन् । यी नियममा वस्तु तथा सेवाको मूल्यसँगै थप सेवा शुल्क लिन पाउने व्यवस्था थियो । 

कानुन नै बनाएर सेवा शुल्कको व्यवस्था गर्ने कार्य संविधानसँग बाझिएको भन्दै महर्जनले रिट दायर गरेका थिए । उक्त कानुनी प्रावधान ‘कपटपूर्ण’ र ‘अन्यायिक’ रहेको दाबी गर्दै रिटमा ती प्रावधान खारेजीको माग थियो । श्रम ऐन र नियमावलीका सेवा शुल्क सम्बन्धित दफा र नियम संविधानको धारा ४४ प्रतिकूल रहेको रिटमा उल्लेख छ । ‘विवादित सेवा शुल्क व्यवसायीले निर्धारण गरेको मुनाफासमेत समावेश भएको मूल्यमा थप गरिएको छ । व्यवसायीले आपूर्ति गर्ने सेवासहितको मूल्यभित्र निजको उत्पादनको प्रतिफल समावेश भइसकेपछि आमउपभोक्ताले विनाकुनै प्रतिफल थप रकम तिर्नुपर्ने प्रावधानले करसरहको रकम संकलन गर्न पाउने प्रबन्ध गरेको छ । करको पूर्ण विशेषता भएको, तर करसम्बन्धी अन्य कुनै संवैधानिक एवं कानुनी प्रावधान मान्य सिद्धान्त लागू नहुने गरी रकम लिन पाउने अधिकार सर्वथा असंवैधानिक छ,’ रिट निवेदकको दाबी थियो ।

संविधानको धारा ४४ ले ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने’ हक सुनिश्चित गरेको छ । श्रम ऐनको दफा ८७(३) ले भने ‘होटेल, मोटेल, रेस्टुरेन्ट, जंगल सफारी वा अन्य व्यवसाय गर्ने रोजगारदाताले सामूहिक सम्झौताबमोजिम लिइएको सेवा शुल्क रकम तोकिएबमोजिम वितरण गर्ने’ व्यवस्था गरेको छ । 

साथै श्रम नियमावलीको नियम ८२ ले यसको वितरणको विस्तृत व्यवस्था गरेको छ । सेवा शुल्कबापत उठाइएको रकमलाई शतप्रतिशत मानेर ट्रेड युनियनसँग भएको सम्झौताबमोजिम तथा ७१ प्रतिशतसम्म वितरण गर्न पाउने व्यवस्था छ । तर, बुधबारको फैसलापछि ती दुवै दफा र नियम खारेज हुने भएका छन् । ती नियमले सीमित व्यक्तिलाई लाभ दिने र आमउपभोक्तालाई शोषण गर्ने निवेदकले दाबी गरेका थिए । 

सुझावित समाचार