हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहालको हत्या आरोपमा रावाबेँसी गाउँपालिका–५ दुवेकोलका २५ वर्षीय अनन्त विश्वकर्मा पक्राउ परेका छन् ।
हलेसीस्थित महेन्द्रोद्वय माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत १७ वर्षीया किशोरी यही माघ २ गते बिहान आफ्नै घर नजिकै शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् । रञ्जिताको हत्या आरोपमा प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई शुक्रबार कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।
‘मृतक किशोरीका आफन्तले दिएको किटानी जाहेरीको आधारमा विश्वकर्मालाई माघ ३ गते पक्राउ गरेर अनुसन्धान गर्ने काम भइरहेको छ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट विश्वकर्माले किशोरी (रञ्जिता दाहाल)को हत्या गरेको नभइ आत्महत्या दुरुत्साहन गरेको खुलेको छ । अनुसन्धन गर्नेक्रम जारी छ ।’
घटनालगत्तै भागेर दुवेकोल पुगेका विश्वकर्मालाई प्रहरीले दुवेकोलस्थित आफ्नै घरबाट माघ ३ गते पक्राउ गरेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवम् नगर प्रवक्ता कमल गिरीले बताए । ‘घटना भएको अघिल्लो दिन आरोपित विश्वकर्मा मादक पदार्थ सेवन गरेर किशोरीको फोटो उनका आफन्तलाई देखाउँदै गाउँमा डुलेका रहेछन्,’ उनले भने ।
माघ १ गते आइतबार दिउँसो करिब ३ बजेतिर विद्यालयबाट घर फर्कनेक्रममा सम्पर्कविहीन भएकी किशोरी भोलिपल्ट बिहान आफ्नै घर नजिकै खन्युको फेदमा मृत फेला परेकी थिइन् । घटनास्थलमा पातलो सलको एक टुक्रा घाँटीमा र अर्को टुक्रा रुखको हाँगामा रहेको अवस्थामा किशोरीको शव भूइँमा घोप्टो परेको भेटिएको थियो ।
मृतकका आफन्तले रञ्जिताले आत्महत्या गरेको नभइ विश्वकर्माले नै हत्या गरेको दाबी गरेका छन् । शङ्कास्पद अवस्थामा मृत फेला परेकी किशोरीको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।