विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल शंकास्पद अवस्थामा मृत फेला परेकी छिन् ।
त्रिधार्मिक स्थल हलेसीस्थित महेन्द्रोदय माध्यमिक विद्यालयबाट आइतबार दिउँसो करिब तीन बजेतिर घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिका सोमबार बिहान आफ्नै घरनजिकै रहेको खन्युको फेदमा मृत फेला परेकी हुन् ।
महेन्द्रोदय माविको कक्षा १० मा अध्ययनरत बालिका माघ ३ देखि विद्यालयमा हुन लागेको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे ३ बजेतिर घर फर्केकी थिइन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका घरभन्दा करिब दुई सय मिटर टाढा मृत फेला परेकी छन् ।
घटनास्थलमा मृतकको घाँटीमा र रूखको हाँगामा पातलो सलको टुक्रा भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । ‘ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको छ,’ उनले भने ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए । बालिकाको शव परीक्षणपछि ‘हत्या गरेर झुन्ड्याइएकोजस्तो बनाउन खोजिएको वा आफैँ झुन्डिएको’ भन्ने विषय अस्पतालको प्रतिवेदनमा खुल्ने प्रहरीले बताएको छ ।
बालिकाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी क्षेत्रमा यसअघि विभिन्न समयमा सुगा राई र ज्ञानीमाया विश्वकर्माको हत्या भएको थियो । उनीहरू दुवैको हत्यामा संलग्न अपराधी अहिलेसम्म पत्ता लागेको छैन ।