उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय आफ्नो विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा हत्या अभियोग लागेका सांसदलाई पक्राउ गर्न माग उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले यस्तो जवाफ दिएका हुन् ।
बैठकमा कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदहरू पनि उपस्थित भएको उल्लेख गर्दै मतदान प्रक्रियामा भाग लिन पाउने–नपाउने निर्क्याेल गरेर मात्र बैठक अघि बढाउन माग गरेका थिए । मन्त्री लामिछानेले विधि र पद्धतिविपरीत दबाब र प्रभावमा नपार्न आग्रह गरे ।
‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो । विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किँदैन । यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुनेछैन भन्ने आशा छ । विधि स्थापित गरेर कर्मचारीको सरुवा–बढुवा हुन्छ । गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन । हामीले विधि र पद्धति स्थापित गर्छौँ भनेर देखाइरहनुपर्दैन, यो स्वतःसिद्ध छ ।’