हलेसीमा पनि तालिमप्राप्त पर्यटक गाइड

बिहिबार, ५ माघ, २०७९
डिजिटल संस्करण

खोटाङको हलेसी मन्दिरको महत्व बुझाउन पर्यटक गाइड तालिम सुरु गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्यहाँको आधिकारिक महत्व बुझाउँदै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले स्थानीय २५ जना युवालाई आठदिने तालिम दिन सुरु गरिएको हो । 

हलेसी तथा आसपासका धार्मिक एवं पर्यटकीय स्थलहरूको महत्वबारे आ–आफ्नै तवरले वर्णन गरिएकाले आगामी दिनमा आधिकारिक गाइडबाट आधिकारिक जानकारी मात्र दिने उद्देश्यले तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताइन् ।

‘हलेसी, ताराखसे, तुवाचुङ–जयाजुमलगायतका पर्यटकीय स्थललाई आ–आफ्नै धारणाअनुसार वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ,’ उनले भनिन्, ‘जसका कारण त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषयविज्ञलाई झिकाएर पर्यटक गाइड तालिम प्रदान सुरु गरिएको छ । आगामी दिनमा आधिकारिक गाइडबाट मात्रै हलेसीको वर्णन गरिनेछ ।’ प्राकृतिक रूपमा समेत हलेसीको हिन्दू, बौद्ध र किराँत तीनवटै धर्मावलम्बीका आ–आफ्नै इतिहास रहेको जानकार बताउँछन् । सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्ने उद्देश्यले आठदिने पर्यटक गाइड तालिम सुरु गरिएको बताइएको छ । 

नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (एनएटिएच)सँगको सहकार्यमा नगरपालिकाले तालिमको आयोजना गरेको हो । तालिमको सहजीकरण एनएटिएचका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सहप्राध्यापक तथा संस्कृतिविद् डा. लोकनाथ दुलाल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किराँत मुन्धुम अध्येता भोगीराज चाम्लिङ राईले गरिरहेका छन् । सात महिला र १८ पुरुष गरी २५ जना तालिममा सहभागी भएका छन् । तालिम सम्पन्न भएपश्चात् उनीहरूलाई सूचीकृत गरेर आधिकारिक गाइड राखिने नगरपालिकाले जनाएको छ । 
 

See More On

सुझावित समाचार