प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री दाहालले ललितपुरको सुमेरू अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्रीले नेता पुनको स्वास्थ्य उपचारमा खटिएका चिकित्सकसँग आवश्यक जानकारी लिएका उनको सचिवालयले जनाएको छ । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत शनिबार अस्पतालमा भर्ना भएका थिए ।
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपश्चात जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिन पहिले रोल्पा पुगेका थिए । रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकोप्टरबाट अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समय पहिले चीनको एक अस्पतालमा उपचार गराएका थिए ।