घरलाई यसरी बनाउनुस् न्यानो

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

जाडोयाममा मानिसहरू प्रायः घरभित्रै बस्न रुचाउँछन् । तर, कोठा चिसो हुँदा घरभित्रै पनि सास्ती महसुस हुन्छ । त्यसैले धेरैले कोठा तताउनका लागि हिटर प्रयोग गर्छन् । तर, यसका धेरै बेफाइदा छन् । जस्तो, यसले अक्सिजन सोस्छ र गुम्म बनाइदिन्छ । लामो समय हिटर ताप्दा विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छन् । केही उपाय अपनाएर कोठालाई प्राकृतिक रूपमै पनि न्यानोे र आरामदायी बनाउन सकिन्छ । 


वार्म लाइट जडान गर्ने 

जाडोमा घरलाई न्यानो राख्नका लागि बत्तीको महŒवपूर्ण भूमिका हुन्छ । तपाईंले जाडो मौसममा एलइडी र सिएफएलको साटो घरमा वार्म लाइट प्रयोग गर्न सक्नुहुन्छ । यसले धेरै मात्रामा तातो ऊर्जा जारी गर्छ र कोठालाई न्यानो बनाउन सहयोग गर्छ । 

बाक्लो पर्दा र कार्पेट 
खासगरी घरमा चिसो पस्ने झ्यालबाट नै हो । आजभोलि अधिकांश घरका झ्यालका खापा सिसाका हुन्छन् । जसले घरभित्रको तापक्रम जोगाउन सक्दैन । जाडोमा झ्यालमा मोटो र गाढा रङको पर्दा राख्नु राम्रो हुन्छ । त्यस्तै, तपाईंले भुइँमा रंगीन तथा बाक्लो कार्पेट ओछ्याउन सक्नुहुन्छ । जसले तपाईंको घरको सौन्दर्य मात्रै बढाउँदैन, न्यानो बनाउन पनि सहयोग गर्छ । यदि तपाईंको कोठामा पार्केटिङ छ भने तुलनात्मक रूपमा कोठा तातो हुन्छ । तर, सिमेन्टको भुइँ छ भने तपाईंले घरमा बस्दा पनि न्यानो हुने चप्पल वा जुत्ता लगाउनु राम्रो हुन्छ । 

झ्यालमा बबल र्‍याप राख्ने 
झ्यालबाट चिसो हावा छिर्‍यो भने कोठा सधैँ चिसो हुन्छ । यसबाट बच्न घरको झ्याल आवश्यक पर्दा मात्रै खोल्नुपर्छ । जाडोमा प्रायः ढोका पनि बन्द राख्नुपर्छ । झ्यालमा बबल र्‍यापको प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा घामको प्रकाश छिर्छ, तर चिसो हावा छिर्न पाउँदैन । त्यसैले कोठा उज्यालो देखिन्छ र न्यानो पनि रहन्छ । 

बाक्लो बेडसिटको प्रयोग 
जाडोमा न्यानो रहनका लागि बाक्लो बेडसिट प्रयोग गर्नुस् । त्यस्तै, न्यानो खालको तकिया प्रयोग गर्नुस् । सोफामा पनि बाक्लो तकिया राखेर न्यानो बनाउन सक्नुहुन्छ । हट वाटर ब्यागको प्रयोग गर्ने  घरमा हट वाटर ब्यागमा तातो पानी हालेर राख्न सक्नुहुन्छ । तपाईंलाई आवश्यक परेको वेला हट ब्यागले ज्यानलाई तताउन सकिन्छ । 

हिटर प्रयोग गर्दा यस्तो सावधानी 
- चिसोमा कोठालाई सहज रूपमा न्यानो बनाउन धेरैले हिटर प्रयोग गर्नुहुन्छ । तर, यसका धेरै बेफाइदा छन् । त्यसैले हिटर प्रयोग गर्दा हामी सजग हुन जरुरी छ । 
- बन्द कोठामा हिटर अन गरेर बाहिर निस्कने काम कहिल्यै नगर्नुस् । हिटरबाट निस्कने कार्बन मनोअक्साइड ग्यास स्वास्थ्यका लागि घातक छ । 
- हिटर अन गरेर कहिल्यै नसुत्नुस् । यसले सास फेर्न गाह्रो हुन्छ र कतिपयको ज्यानै जान सक्छ । 
- लामो समय हिटरमा बस्दा छाला सुक्खा हुन्छ । मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नुहुँदैन । 
- प्रज्वलनशील पदार्थ, कागज, ब्ल्यांकेट, कपडा, दाउरालगायत सामग्रीलाई हिटरनजिक कहिल्यै राख्नुहुँदैन । 
- हिटरलाई बच्चानजिक राख्नुहुँदैन । झ्याल, ढोका थुनेर हिटर चलाउँदा कोठामा अक्सिजनको मात्रा कम हुन्छ । त्यसैले हिटर बालेका वेला कोठा पनि खुला राख्नुपर्छ । 

सुझावित समाचार