राष्ट्रिय विपत्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरूलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरूको बिमा पाटोमा कुनै समस्या नरहेको बताए।
उनले बैठकमा शवहरूको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरूलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीबारे छलफल भएको बताए।
बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरू र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरूलगायत सरोकारवालाको सहभागिता रहेको थियो।
आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी एटिआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट दुई किलोमिटरको दूरीमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो।