जाडो बढ्दै छ । टाउको दुख्ने, पेट दुख्ने, जोर्नी दुख्नेलगायत विभिन्न समस्या यस मौसममा देखिन्छन् । कतिपय मानिस समस्या देखिएपछि त्यसको कारण र स्थायी समाधान खोज्नतर्फ लाग्दैनन्, बरु क्षणिक राहतका लागि औषधि पसलमा गएर पेनकिलर किन्छन् । तर, चिकित्सकसँग परामर्श नलिई जथाभावी औषधि सेवन गर्नु स्वास्थ्यका लागि घातक हुन सक्छ । पेनकिलर धेरै थरीका छन् । कस्तो दुखाइमा कुन औषधि खाने, कति मात्रामा खाने भनेर चिकित्सकसँग परामर्श अनिवार्य लिनुपर्छ ।
जथाभावी पेनकिलरको प्रयोगले आन्द्रामा असर गर्छ, कलेजो बिगार्न सक्छ । सामान्य रोग लाग्नेबित्तिकै चिकित्सकसँग सल्लाह नगरी पेनकिलर प्रयोग गर्नेलाई बिस्तारै यसैको लत पर्न सक्छ । जथाभावी पेनकिलरको प्रयोगले कब्जियत, अनिद्रा, ध्यान केन्द्रित गर्न नसक्ने, पेटमा अल्सर वा रक्तश्राव, ग्यास्ट्रिक, श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छ ।
तपाईंले जुनसुकै औषधि लिँदा पनि त्यो तपाईंको रगतमा मिसिन्छ र फेरि किड्नीबाट फिल्टर भएपछि शरीरबाट निस्कन्छ । यस प्रक्रियामा पेनकिलरले किड्नीसम्म गइरहेको रगतको बहावलाई प्रभावित गर्न पनि सक्छ । जसकारण, एलर्जिक रियाक्सन हुन सक्छ वा किड्नी बिग्रन पनि सक्छ ।पेनकिलरको अत्यधिक प्रयोगले डिप्रेसन पनि निम्त्याउन सक्छ । फ्लेक्जन भनेको पारासिटामोल हालेको औषधि हो । यसको अत्यधिक सेवन गर्दा मस्तिष्कमा असर गर्छ ।
सावधानी
- त्यसैले जथाभावी औषधि पसलमा गएर रोगको निदान नगरी आफूखुसी औषधि खरिद गर्नुहुँदैन । दुखाइ भएमा डाक्टरलाई देखाउनुपर्छ ।
- पेनकिलर लिएपछि तपाईंको पेटमा दुखाइ सुरु भयो भने तत्कालै यसको प्रयोग बन्द गरेर डाक्टरलाई देखाउनुपर्छ ।
- यदि तपाईंको हृदयमा समस्या छ भने झुक्किएर पनि विशेषज्ञ डाक्टरको सल्लाह नलिई पेनकिलर खान हुँदैन । ब्लडप्रेसर, मधुमेह र किड्नीका बिरामीले पनि यस्तै गर्न जरुरी छ । दुखाइ भएको छ भने चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।
- गर्भवती महिलाले डाक्टरलाई नसोधी पेनकिलर सेवन गर्नुहुँदैन । पेनकिलरको सेवनले गर्भपतन हुने खतरा रहन्छ ।
- कुन रोगमा कति मात्रा खाने, कसरी खाने, के–के खाने भनेर डाक्टरसँग सल्लाह गरेर मात्रै प्रयोग गर्नुपर्छ ।
यी कुरामा ध्यान दिनुस्
- खाली पेटमा कहिल्यै पेनकिलर खानुहुँदैन । यसले शरीरमा एसिडिटी अत्यधिक मात्रामा बढाउँछ र स्वास्थ्य बिग्रन सक्छ ।
- कतिपयले पेनकिलर पनि लिइरहेका हुन्छन् र अल्कोहलको सेवन पनि बन्द गर्दैनन् । डाक्टरको परामर्शमा पेनकिलर प्रयोग गरिरहनुभएको छ भने अल्कोहलबाट टाढा रहनुपर्छ ।
- पेनकिलर प्रयोग गर्दाको समय शरीरमा पानीको मात्रा कम हुन दिनुहुँदैन ।
- औषधिको चक्कीलाई कहिल्यै पनि टुक्र्याएर प्रयोग गर्नुहुँदैन । कतिपय मानिसले बच्चालाई औषधि टुक्रा–टुक्रा पारेर खुवाउँछन्, किनकि बच्चाले औषधि खान आनाकानी गरिरहेका हुन्छन् । तर, यस्तो गर्दा औषधिको पूरा डोज चाँडै शरीरमा घुल्छ र कहिलेकाहीँ हाम्रो शरीरले त्यसको प्रभावलाई सम्हाल्न सक्दैन । त्यसैले औषधिको चक्कीलाई सिंगै निल्नुपर्छ । तर, यदि आधा मात्रै औषधि खाने हो भने टुक्रा गरेर खाँदा पनि हुन्छ ।