आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको एनवाइटी– ६९१, नाइन एन– एएनसी जहाज दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ। मानवीय क्षतिको हिसाबले आज पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो।
हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दुर्घटनामा परेको हो। तुलनात्मक रूपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटना पर्नु आफैँमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक संघका प्रतिनिधि एवं आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ। उनका अनुसार एटिआर नै दुर्घटनामा परेको पहिलोपटक हो।
नेपालको भौगोलिक बनावट, विमानस्थलको क्षमता तथा यात्रु संख्यालाई ध्यान दिएर एटिआर सिरिजका विमान ल्याइएको बताउने गरिएको छ। आचार्यका अनुसार एटिआर सिरिजका विमानले इञ्जिनमा कुनै प्राविधिक समस्या देखिए जानकारी दिन्छ।
हवाई दुर्घटनापछि गठन गरिने छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको विज्ञहरूको भनाइ छ। सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ। तर, प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ।
सरकारले पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो।
सचिव नागेन्द्र घिमिरे संयोजकत्वमा गठित आयोगमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला र सुनील थापा तथा हवाई मर्मत इन्जिनियर एकराजजङ थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।
आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ। आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दै आएको छ। समस्या न्यून हुनुको साटो बरु बढ्दै गएको छ। समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रूपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकतासमेत महसुस भएको छ।
यति एयरलाइन्सको विमान दुर्घटनापछि हवाई सुरक्षाका विषयमा चासो र चिन्ता बढेको छ। विभिन्न खालका आशंका र अनुमान पनि आएका छन्। तर, सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारको भनाइ छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरका अनुसार आजको दुर्घटना नेपालको हवाई उड्डयन क्षेत्रकै दुर्भाग्य हो। हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमा समेत अध्ययन गर्नुपर्ने सुझाव आइरहेका छन्।
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाएका थिए। यस्तै, सन १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए। ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो।
यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो। सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा पर्यो र एक सय ५७ जनाले ज्यान गुमाएका थिए।
सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पर्यो र पाँचजनाले ज्यान गुमाएका थिए। सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भने भएन। पटक–पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ।
सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा कम्तीमा तीनजनाको मृत्यु भएको थियो।
यस्तै, सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको थियो।
सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौं आउँदै गरेको अल्टिट्युड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जंगलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटक र अन्य पाँचजनाको मृत्यु भएको थियो। मार्च २०१८ मा बंगलादेशबाट नेपाल आएको युएस बांगाला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु भएको थियो।
यस्तै, गत जेठ १३ गते यतिकै भगिनी संस्था तारा एयरको ट्विनएटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो। नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन्। सन १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो।
काठमाडौंबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो।
नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको थियो। सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा १०८औँ हवाई दुर्घटना हो। यति एयरलाइन्सको हकमा भने यो चौथो दुर्घटना हो।
हालै मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको दुर्घटना आफैँमा ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो।
प्रश्न, हरेक दुर्घटनापछि बन्ने छनबिन समितिले पेस गर्ने अध्ययन प्रतिवेदन कार्यान्वयन भएका छन् त, भन्ने हो। आन्तरिक उडानतर्फ हालसम्मकै बढी क्षति भएको दुर्घटनाका कारण पत्ता लगाई कार्यान्वयन गर्न सकेको खण्डमा मात्र नेपाली आकाश सुरक्षित छ भन्ने म्यासेज जाला नत्र उडान जोखिमका हिसाबले ‘कालोसूची’मा रहेको नेपालको नाम हटाउनकै लागि लामै संघर्ष गर्नुपर्ने हुन्छ।