गण्डकीले सभामुख पायो, कर्णालीमा आज निर्वाचन हुँदै

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण
गण्डकीले सभामुख पायो, कर्णालीमा आज निर्वाचन हुँदै

गण्डकी प्रदेशको सभामुख पदमा निर्वाचित भएपछि अभिवादन गर्दै कृष्ण प्रसाद धिताल । तस्बिर : रासस

गण्डकी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । शनिबार बसेको प्रदेश सभा बैठकले उनलाई सभामुखमा निर्वाचित गरेको हो । ४ मंसिरमा सम्पन्न निर्वाचनमा धिताल गोरखा १ (क) बाट निर्वाचित भएका थिए । उनी ०७० मा संविधानसभा सदस्य बनेका थिए । धिताल हाल माओवादीका केन्द्रीय सदस्यसँगै गोरखा जिल्ला इन्चार्जसमेत हुन् । 

एमाले नेतृत्वमा बनेको सत्तागठबन्धनले गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमति यसअघि नै गरेका थिए । सोही सहमतिअनुसार धिताल सत्तागठबन्धनबाट उम्मेदवार बनेका थिए । धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्दै माओवादीका फणीन्द्र देवकोटाले प्रस्ताव गरेका थिए । एमालेका प्रमुख सचेतक रोशनबहादुर गाहा थापाले समर्थन गरेका थिए । 

धितालसँगै सभामुखमा कांग्रेसबाट स्याङ्जाकी सरस्वती अर्याल तिवारी उम्मेदवार थिइन् । बैठकमा कांग्रेसका डिल्लीराम सुवेदीले तिवारीलाई सभामुखमा निर्वाचित गरियोस् भन्दै प्रस्ताव गरेका थिए । डा. टकराज गुरुङले समर्थन गरेका थिए ।

बैठकमा दुवै उम्मेदवारको प्रस्ताव र समर्थनपछि सभामुख चयनका लागि भएको मतविभाजनमा धितालको पक्षमा ३२ मत परेको थियो । ६० सदस्य प्रदेश सभामा एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसदले धितालका पक्षमा मत जाहेर गरेका थिए । 

निर्वाचनमा ५८ जना सहभागी भएका थिए । शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वास मत दिने बैठकमा अनुपस्थित रहेका राजीव गुरुङ शनिबारको बैठकमा उपस्थित भएर धितालको पक्षमा मत जाहेर गरेका थिए । बैठकमा कांग्रेसका २७ सांसदमध्ये एकजना अनुपस्थित थिए । बैठक सञ्चालन गरेका सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले मत राख्न पाएनन् । बस्याल एमाले सांसद हुन् । धितालले शनिबारै प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । उपसभामुखको निर्वाचन सोमबार हुने भएको छ । 

कर्णालीमा एमालेकी गुरुङ र कांग्रेसका पोखरेलले गरे उम्मेदवारी दर्ता
सुर्खेत/कर्णाली प्रदेश सभा सभापतिका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट नन्दा गुरुङ र कांग्रेसका खड्क पोखरेलले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका हुन् । आइतबार सभामुखको निर्वाचन हुने कार्यक्रम छ र सत्तारूढ दलको भागबन्डामा कर्णालीको सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ । सभामुखको उम्मेदवार भएकी एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन् । कांग्रेसबाट उम्मेदवार बनेका पोखरेल सुर्खेत १ (क) बाट निर्वाचित भएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सभामुख हुन बहुमत संख्या २१ चाहिन्छ । कर्णालीमा ४० सदस्यमध्ये कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक–एकजना सांसद छन् । कर्णालीमा सत्तासमीकरण गरेका दलहरूको स्पष्ट बहुमत छ । 

मधेस सभामुखमा मण्डल र रायको उम्मेदवारी
जनकपुरधाम/
मधेस प्रदेश सभाको सभामुखमा एमालेका रामचन्द्र मण्डल र कांग्रेसका जंगीलाल रायको उम्मेदवारी परेको छ । माओवादी केन्द्रको प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमतसहित सत्तारूढ दलहरूको समर्थन छ । आफ्नै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिएका छन् ।

मण्डलको प्रस्तावकमा माओवादीका भरतप्रसाद साह र समर्थनमा लोसपाकी रानी शर्मा तिवारी, जसपाका रामआशिष यादव, जनमतका महेश यादव छन् । रायको प्रस्तावक कांग्रेसकै कुमरकान्त झा र समर्थक जिवछी यादव छन् ।

सभामुखमा सत्तारूढ गठबन्धनका उम्मेदवार मण्डलले आफूसँग पाँच दल एमाले, जसपा, लोसपा, जनमत र माओवादी गरी कुल ७० सांसदको समर्थन रहेको दाबी गरे । सभामुखमा उम्मेदवारी दिएको कांग्रेसका रायले राजनीतिमा सधैँ जितका लागि मात्र उम्मेदवारी नहुने भन्दै हारमा पनि राजनीति र शक्ति हुने बताए । सोमबार हुने सभामुख निर्वाचनमा जे पनि हुनसक्ने उनको तर्क छ । 

सुझावित समाचार