पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने संकल्पको खाँचो रहेको बताएका छन्।
पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार ः कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अंगमा उचित समन्वय नहुँदा यो बढिरहेको बताए।
एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै उनले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताए।
भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुनेमा जोड दिँदै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रहेको बताए।
एमालेका नेता युवराज ज्ञवालीले भ्रष्टाचार नियन्त्रण गर्न कठिन संघर्षको जरुरी रहेको बताए। माओवादी केन्द्रका नेत्री रेखा शर्माले समृद्धिको मुल बाधक भ्रष्टाचार रहेको उल्लेख गरिन्।
कांग्रेसका युवा नेता प्रदीप पौडेलले भ्रष्टाचारका कारण राजनीतिक प्रणालीमाथि प्रश्न उठ्न थालेकामा चिन्ता व्यक्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले राजनीतिक नेतृत्वले नै मुलुकमा भएका विभिन्न समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने बताए।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले विधिको शासन स्थापित भए मात्र भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन सम्भव भएको बताए।