विद्यालय तहका विद्यार्थीमा न्यूनतम सिकाइ उपलब्धि पनि नभेटिनुको कारण के होला ?
यसका धेरै कारण छन् । खासगरी हाम्रा शिक्षक र विद्यार्थीबिचको सम्बन्ध निकै कमजोर छ । विद्यालयप्रति विद्यार्थीको विश्वासमा कमी छ । विद्यार्थीमा ‘लभ अफ लर्निङ’ को वातावरण छैन । पाठ्क्रमको बोझ बढी भएकाले त्यसलाई निर्धारित समयभित्र सकाउनैपर्ने दबाब हुन्छ ।
जसले गर्दा सिकाउनैपर्ने विषयवस्तु पनि हतारमा सक्नुपर्ने र छुटाउनुपर्ने बाध्यता हुन सक्छ । हाम्रा पाठ्यपुस्तकहरूमा पनि विद्यार्थीलाई ‘इंगेज्ड’ राख्ने खालका सामग्रीको कमी छ । शिक्षक निर्देशिका अधिकांश शिक्षकका हातमा पुग्दै पुग्दैनन् । अभिभावकको चासो पनि कमजोर छ । विद्यालयमा बालमैत्रीपूर्ण वातावरणको अभाव छ । यिनै कमी कमजोरीका कारण हाम्रा विद्यार्थीको सिकाइ गुणस्तर निकै कमजोर देखिएको हो ।
यस्तो कमजोर नतिजा आउनुमा कोको जिम्मेवार देखिन्छन् ?
पहिलो जिम्मेवार त शिक्षक नै हो । शिक्षकलाई उत्प्रेरणा जगाउने शैक्षिक नीति र भौतिक सुविधाले हो । त्यसको पनि कमी देखिन्छ । विद्यालयभित्र प्रधानाध्यापकले सबै शिक्षकलाई भेदभावरहित वातावरणमा आफ्नो कार्य सम्पादन गर्ने अवसर दिनुपर्छ । साथमा विद्यार्थी आफैँ पनि ‘मोटिभेटेड’ हुनुपर्छ ।
यस्तो अवस्थामा सुधार ल्याउन केके गर्नुपर्छ होला ?
विद्यार्थीले तहगत रूपमा सिक्नैपर्ने न्यूनतम विषयवस्तुबारे शिक्षक जानकार हुनुपर्छ । सरकारले पनि न्यूनतम सिकाइको स्तरबारे ‘डिफाइन’ गरिदिनुपर्छ । आवश्यक शैक्षिक सामग्री विद्यालय प्रशासनले उपलब्ध गराइदिनुपर्छ । विद्यार्थी स्वयं पनि जागरुक हुनुपर्छ ।