दैलेखका दुई पालिकामा एउटै व्यक्तिले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुपर्दा सेवाग्राही मर्कामा परेका छन्। दैलेखको भगवतीमाई गाउँपालिका र भैरवी गाउँपालिकामा एउटै व्यक्ति विगत पाँच महिनादेखि कार्यालय प्रमुखको जिम्मेवारीमा छन्।
पालिकाको समग्र विकास निर्माण, अन्य विभिन्न कामहरूका लागि कार्यालय प्रमुख नियमित रूपमा पालिकामा उपस्थित हुनुपर्छ। तर, दैलेखमा निर्वाचित जनप्रतिनिधिहरूका कारण एउटै व्यक्ति दुई पालिकाको प्रशासनिक जिम्मेवारी सम्हाल्न बाध्य छन्।
आर्थिक वर्षको ६ महिना पुगिसक्दासमेत भैरवी गाउँपालिकामा योजनाको डिजाइन स्टिमेट हुन सकेको छैन। उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने कामको सम्झौता पनि हुन सकेको छैन। भैरवी गाउँपालिका कालिकोटको तथा भगवतीमाई गाउँपालिका जाजरकोटको सिमानामा पर्छ। कामको जिम्मेवारी पाएका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्का धेरैजसो समय भगवतीमाईमै बस्छन्। भैरवीका नागरिक भने पाँच घन्टा लगाएर पालिकाको कामका लागि भगवतीमाई पुग्नुपर्ने अवस्था छ।
स्थानीयवासी जस्तोसुकै कामका लागि पनि हाकिम कहिले कार्यालय आउँछन् भनेर कुर्न बाध्य छन्। काम गरेको चेकको भुक्तानी लिनसमेत चेकमा हाकिमले हस्ताक्षर गर्नुपर्छ। त्यतिका लागि भैरवीबाट चार घन्टा सवारीमा यात्रा गरेर भगवतीमाई धाउनुपरेको स्थानीय विकास थापाले गुनासो गरे। ‘भैरवी गाउँपालिकामा कुनै पनि विकासे कामको सम्झौता भएको छैन। बर्खामा अवरुद्ध यातायात सुचारु गर्न भैरवी गाउँपालिकाकी अध्यक्ष रिता शाहीको आदेशमा सडक सञ्चालनका लागि स्थानीयवासीले धमाधम काम गरे। त्यसको करिब ५० लाख भन्बदाढी रकम भुक्तानी लिन बाँकी नै छ,’ उनले भने।
आफ्नोअनुकूलको व्यक्ति नभएको भन्दै विवाद
भैरवी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत आफ्नोअनुकूलको नभएको भन्दै पाँच महिनाअघि जनप्रतिनिधिले नयाँ व्यक्ति खोजेपछि काम गरिरहेका व्यक्ति सरुवा भएर महावु गाउँपालिका गए।
सामान्य प्रशासन मन्त्रालयले भगवतीमाईका प्रमुख प्रशासकीय अधिकृत बखत खड्कालाई भैरवीमा सरुवा गरी त्यहाँ कार्यरत भोलाराम पंगालीलाई भगवतीमाई पठायो। भगवतीमाईका उपाध्यक्षलगायतले पुरानै हाकिम चाहिन्छ भन्दै विरोध गरे पनि बखत खड्काले मन्त्रालयको ‘पावर’ लगाएर पुनः भगवतीमाईमै थमौती कायम गरे। भोलाराम पंगाली अहिले कालिकोटको स्थानीय तहमा छन्।
भैरवीमा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतले समेत निर्माणाधीन गाउँपालिका कार्यालयको भवनको रकम दिन नमानेपछि उनीमाथि दबाब बढाइएको बताइएको छ। दबाबका कारण उनी आफैँ अन्यत्र सरुवा भए। गत दसैँमा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत खड्कालाई नै मन्त्रालयले भैरवीको जिम्मेवारी दियो। उनी पाँच महिनादेखि दुईवटा पालिकाको प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन्।
भैरवीमा गाउँपालिका अध्यक्षको अडानले समस्या
भैरवी गाउँपालिकाकी अध्यक्ष रिता शाहीका श्रीमानले चार वर्षअघि ठेक्कामार्फत निर्माण गरेको गाउँपालिकाको भवनको भुक्तानी दिनेलाई मात्र हाकिम ‘स्वीकार गर्ने’ अडानका कारण सेवा प्रभावित भएको स्थानीयवासीको जिकिर छ। अध्यक्ष शाहीका श्रीमानले निर्माण गरेको पालिकाको प्रिफेप भवन निर्माणमा स्टिमेटभन्दा फरक काम भएको भन्दै प्रशासकीय अधिकृतले भुक्तानी नदिएका हुन्।
पालिका प्रमुख व्यक्तिगत स्वार्थमा अल्झेपछि नागरिकले दुःख पाएको स्थानीयको गुनासो छ। प्राविधिक मूल्यांकनभन्दा फरक तरिकाले काम भएकाले उक्त भवनको भुक्तानी दिन कोही पनि कार्यालय प्रमुख मान्न तयार छैनन्। गाउँपालिकामा अहिले लेखा अधिकृतसमेत छैनन्।
भैरवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका खड्काले नयाँ सरकार गठनसँगै तत्कालै नयाँ हाकिम आउने बताए। गाउँपालिकाको विवाद बुझेपछि नयाँ आउने कार्यालय प्रमुख पनि बस्न नमान्ने उनको तर्क छ। ‘भवन निर्माणको काम गरेको रकम पाउनुपर्ने माग जायज छ। तर, प्रक्रियागत रूपमा केही समस्याहरू छन्,’ उनले भने, ‘कार्यालय सहयोगीलाई खरदार बनाइएको छ। भवनको विवाद कायमै छ, करार कर्मचारीलाई वडासचिव बनाइएको छ। यस्ता धेरै विषयमा विवाद भएकाले जोकोहीले काम गर्न मान्दैनन्।’