जाडोमा अधिकांशलाई चिसो पानीले नुहाउन कठिन हुन्छ । त्यसैले अहिले गिजर किन्नेको संख्या बढ्दो छ । गिजर कुन ब्रान्डको हो भनेर चिन्न जरुरी हुन्छ । आफ्नो परिवारको संख्याअनुसार कति लिटर पानी भए पुग्छ, त्यहीअनुसार खरिद गर्नुपर्छ । राम्रो ब्रान्डको किन्नुभयो भने लामो समय टिक्छ ।
राम्रो ब्रान्डको किन्दा वारेन्टी पनि पाइन्छ । बिग्रँदा पनि कम्पनीले बनाइदिन्छ । नेपाली बजारमा विद्युतीय र ग्यास गिजर पाइन्छ । विद्युतीय गिजरमा पानी तताउनका लागि विद्युत्को प्रयोग हुन्छ । ग्यास गिजर साधारण खाना पकाउने एलपिजी ग्यासबाट चल्छ । ग्यास गिजरले दुर्घटना निम्तिने जोखिम पनि त्यतिकै हुन्छ ।
त्यसैले सहजता, मूल्य र सुरक्षाका आधारमा विद्युतीय गिजर खरिद गर्नु उचित हुन्छ । यो गिजर १० देखि ३० लिटर क्षमतासम्म बजारमा पाइन्छ । बजारमा नौ हजार पाँच सयदेखि ३२ हजारसम्मका गिजर पाइन्छन् । गिजरको ब्रान्ड र साइजले मूल्य पनि निर्धारण हुन्छ ।
इन्स्ट्यान्ट गिजर
इन्स्ट्यान्ट गिजर जडान गर्नेबित्तिकै पानी तात्छ । यो गिजरमा पानी तताएपछि राख्नका लागि ट्यांकी नभएकाले अन गर्नेबित्तिकै तातो पानी आउन सुरु गर्छ । नुहाउनका लागि भने यही अन र अफ गर्न नै झन्झटिलो हुन्छ । नुहाउनका लागि भने बाल्टीमा वा भाँडामा तातो पानी जम्मा गर्नुपर्ने हुन्छ । गिजरलाई तुरुन्तै पानी आवश्यक पर्ने ठाउँ, जस्तै– भान्सा, भाँडा धुन र हात धुनलगायतमा प्रयोग गर्नु राम्रो हुन्छ ।
स्टोरेज गिजर
स्टोरेज गिजर ट्यांकीमा पानी जम्मा भएको पाँचदेखि १५ मिनेटमा तात्छ । तुरुन्तै तातो पानी चाहिने स्थानमा यो काम लाग्दैन । तर, केही समय कुरेर पानी तताउन चाहनुहुन्छ भने यो राम्रो विकल्प हुन सक्छ ।