शतप्रतिशत समर्थन निकै ठूलो जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शतप्रतिशत समर्थन प्राप्त गर्नु निकै ठूलो जिम्मेवारी र चुनौतीपूर्ण रहेको बताएका छन्। 

११औँ गोरखा उद्योग वाणिज्य संघको उद्घाटन गर्न गोरखा आइपुगेका प्रधानमन्त्री प्रचण्डले शतप्रतिशत समर्थन प्राप्त गर्नु चुनौतीपूर्णको कुरा भएको बताएका हुन्। 

महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘झन्डै शतप्रतिशत समर्थन मलाई प्राप्त भएको छ, यो निकै ठूलो जिम्मेवारीको कुरा पनि हो। यो निकै ठूलो गर्वको कुरा पनि हो र यो निकै ठूलो चुनौतीको कुरा पनि हो। हिजोसम्म अलिकति चिन्ता पनि थियो। कहीँ दलहरुबीच विभाजन भइदियो भने राजनीतिक दलबीचको प्रतिबद्धता र विश्वासमा एकरूपता आइदिएन भने अप्ठ्यारो पो आउने हो कि भन्ने चिन्ता थियो।’ 

सबै राजनीतिक दलहरूको सहमतिबाट प्रधानमन्त्रीको रूपमा विश्वासको मत प्राप्त भएको र यो जिम्मेवारी र यो ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर लागिपर्ने उनले बताए। 

उनले भने, ‘म मलाई गर्व लागेको छ, गोरखा जिल्लाका जनप्रतिनिधिका रूपमा प्रधानमन्त्री मात्रै भएको छैन, झन्डै राष्ट्रिय सहमतिको प्रधानमन्त्री, सबै प्रमुख राजनीतिक दलहरूको साझा प्रधानमन्त्रीको रूपमा काम गर्ने मलाई एउटा ऐतिहासिक अवसर प्राप्त भएको छ र यसलाई मैले चुनौतीपूर्ण अवसरको रूपमा लिएको छु।’ 

गोरखा जिल्लाका जनताप्रति आभार व्यक्त गर्दै नेपालको इतिहासमा नै एउटा नयाँ असाधारण प्रक्रियाबाट प्रधानमन्त्री बनी नेपाल राष्ट्रको सेवा गर्ने, नेपाली जनताको सेवा गर्ने अवसर आफूलाई प्राप्त भएको उनले बताए। 

देशको अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायबारे र सार्वजनिक क्षेत्र र निजी क्षेत्र सहकार्यलाई प्रभावकारी बनाउने कुरा विशेष जोड दिएर अघि बढेको उनले बताए। 

गोरखाबाट निर्वाचित भएका प्रधानमन्त्री दाहालले चुनावी अभियानका क्रममा व्यक्त गरेको प्रतिबद्धताहरूसमेत स्मरण गरेका थिए। 

चुनावी अभियानको क्रममा गोरखाका ग्रामीण सडक सञ्जाललाई स्तराेन्नति गर्ने, सबै पालिका सडक सञ्जालबाट जोड्ने, बुढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने, बेनीघाट–लार्के सडक र उत्तरी गोरखाको रोइला नाकासम्म सडक निर्माण गर्ने कार्यमा आफू निरन्तर लागिरहेको उनले बताए। 

ती प्रतिबद्धता पूरा गर्न एकजनाले मात्र सम्भव नहुने र गोरखाली जनताको आर्थिक, विकास, सुशासन, सामाजिक न्यायका साथै यहाँका सबै आयोजनालाई अगाडि बढाउन सबैको साथ र सहयोगको आवश्यकता रहेकोसमेत उनले बताए। 

‘अब छिटै प्रदेश सरकार पनि गठन हुँदै छ, मलाई विश्वास छ, गोरखाबाट अझै प्रदेशमा पनि मन्त्री हुने सम्भावना छ, त्यसकारण केन्द्रमा प्रधानमन्त्री पनि गोरखाबाट, भौतिक पूर्वाधार तथा यातयातमन्त्री पनि गोरखाबाट,’ उनले भने, ‘प्रदेशमा पनि गोरखाबाट नै मन्त्री हुँदा यो एउटा दुर्लभ पाइने अवसर हुनेछ, गोरखा जिल्लाको जनताको आकांक्षा पूर्ति गर्न यहाँको आर्थिक क्रियाकलाप अगाडि बढाउन यो परिस्थितिले सकारात्मक भूमिका खेल्ने म विश्वास व्यक्त गर्न चाहन्छु।’

प्रधानमन्त्री प्रचण्डले गोरखाली जनताले दिएको मतबाट नै निर्वाचित भई नेपाल सरकारको तेस्रो र नेपालको ४४औँ प्रधानमन्त्री बन्न सफल भएको बताउँदै गोरखाली जनतालाई बधाईसमेत दिएका थिए।  

सुझावित समाचार