गण्डकीका मुख्यमन्त्रीले २९ गते विश्वासको मत लिने

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन्। गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच दलमध्ये चार दलको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त अधिकारीले नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लागेका हुन्।

प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरूलाई २९ गते आफूले विश्वासको मत लिने विषय जानकारी गराएका थिए। त्यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिन आवश्यक प्रक्रियाका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाएका छन्।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार मुख्यमन्त्रीले २९ गते विश्वासको मत लिने र त्यसलाई कार्यसूचीमा राख्ने व्यहोराको पत्र मंगलबार नै सचिवालयमा आएको छ। मुख्यमन्त्रीको पत्र सचिवालयले दर्ता गरी २९ गते विश्वासको मत लिन लागेको सम्बन्धमा प्रदेश सभाका सदस्यहरूलाई मंगलबारै जानकारी दिइएको सुवेदीले बताए।

अधिकारीलाई गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। त्यसरी नियुक्त मुख्यमन्त्रीले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

एमाले संसदीय दलका नेता अधिकारी ६० सदस्यीय प्रदेश सभाका ३३ सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ र राप्रपाका दुई सदस्य रहेका छन्। यसैगरी, मनाङ १ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका राजीव गुरुङ हाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

अधिकारीलाई मुख्यमन्त्रीका लागि कांग्रेसका २७ जनाबाहेक अन्य सबै दलका सदस्यले समर्थन गरेका छन्।

सुझावित समाचार