संसद्को सबैभन्दा ठूलो दल भएर पनि बदलिएको समीकरणका कारण प्रमुख प्रतिपक्ष भूमिकामा पुगेको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आलोचनात्मक समर्थनसहित विश्वासको मत दिन सक्ने संकेत दिएको छ । तर, मंगलबार बिहान बस्ने संसदीय दलको बैठकमार्फत कांग्रेसले सरकारलाई विश्वासको मत दिने–नदिने अन्तिम निर्णय लिनेछ ।
विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराहीस्थित देउवानिवास पुगेका थिए । स्रोतका अनुसार भेटमा सभापति देउवाले आवश्यक निर्णय संसदीय दलको बैठकबाट लिने आश्वासन प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् । भेटमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौला थिए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको र सभापति देउवाले पार्टीमा छलफल गरेर मंगलबार निर्णय लिने जवाफ दिएको खड्काले बताए । त्यसअघि खड्का र सिटौलाले दिउँसो प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए ।
रणनीतिक रूपमा पर्ख र हेरको मनस्थितिमा रहेको कांग्रेसमा सरकारलाई आलोचनात्मक समर्थन गरेर जानुपर्ने मत बलियो बनेको छ । स्रोतका अनुसार सभापति देउवासहितका शीर्ष नेता सरकारमा सहभागी नहुने, तर ‘आलोचनात्मक समर्थन’ गरेर जाने पक्षमा छन् । यसो गर्दा कांग्रेसको प्रतिपक्षकै भूमिका रहन्छ–रहँदैन भन्नेमा नेताहरू मन्थनमा छन् ।
सरकारलाई विश्वासको मत दिने बलियो सम्भावना रहेको र संसदीय दल बैठकमा पार्टी सभापति तथा संसदीय दलका नेता देउवाले आलोचनात्मक समर्थनको प्रस्ताव राख्ने सम्भावना रहेको सभापतिनिकट एक नेताले बताए । ‘सरकारलाई आलोचनात्मक समर्थन गरेर जाने भन्ने मत पार्टीभित्र छ । भोलि हामीले अहिले उपलब्ध शक्तिहरूसँग नै सहकार्य गरेर जानुपर्छ, यो अवस्थामा हामीसँग धेरै विकल्प पनि छैनन्,’ ती नेताले भने, ‘अहिलेको अवस्थामा तीव्र ध्रुवीकरण गरेर जानुभन्दा एक कदम पछाडि फर्केर जानुपर्छ भन्ने मत छ । संसदीय दलको बैठकमा सहमतिमा नै यो टुंगो लाग्छ । तर, अत्यधिक सम्भावना समर्थन गरेरै जानेमा छ ।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वासको मतको विषयमा पार्टीमा दुईमत रहेको र अन्तिम टुंगो मंगलबार बिहान बस्ने संसदीय दलको बैठकबाट लाग्ने बताए । ‘पार्टीमा दुवैथरी मत छ । एकथरी सशक्त प्रतिपक्षको रूपमा जानुपर्छ भन्ने छ, अर्कोथरी समर्थन गरेर जानुपर्छ भन्ने छ । यसबारे सभापति र पदाधिकारीको दृष्टिकोण कस्तो रहन्छ, सांसदहरूको कस्तो दृष्टिकोण रहन्छ, संसदीय दल बैठकमा गम्भीर छलफल गरेर टुंगोमा पुग्नेछौँ,’ पौडेलले नयाँ पत्रिकासँग भने ।
सभापति देउवाले प्रधानमन्त्री र सत्तासाझेदार अन्य दलका नेतासँग पनि संवाद गरिरहेका छन् । सभापति देउवाले दोस्रो तहका नेतामार्फत पनि संवाद गरिरहेका छन् । यही विषयलाई लिएर आइतबार साँझ नेता कृष्ण सिटौला र उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । भेटमा कांग्रेस नेताले विश्वासको मतका विषयमा सकारात्मक संकेत दिएका थिए ।
प्रचण्डसँगको भेटपछि सोमबार सभापति देउवाले आफूनिकटसँग छलफल गरेका थिए । छलफलमा देउवालाई नेताहरूको दुईथरी मत थियो । स्रोतका अनुसार डा. शेखर कोइराला, वरिष्ठ नेता पौडेललगायतका नेता सकारात्मक छन् । ‘सरकार लामो समय जाँदैन अथवा नजाने गरी योजना गराउनुपर्छ । ओलीबाट छुटाएर प्रचण्डलाई नेतृत्व गर्न लगाउनुपर्ने र सम्बन्ध नबिगार्नका लागि मात्रै सरकारमा सहभागी नहुने गरी समर्थन गर्ने भन्ने छ,’ स्रोतले भन्यो, ‘भोलि सम्बन्ध विस्तार गर्दै जाँदा राष्ट्रपति लिने अवस्था पनि हुन सक्छ । अथवा ओलीसँग छुट्टिएर सरकार बनाउने पनि हुन सक्छ ।’
कांग्रेसले अहिलेको अवस्थामा सरकारलाई विश्वासको मतमा असफल बनाउने सम्भावना टरेपछि समर्थनको मनसायमा पुगेको हो । नेताहरूका अनुसार अहिले समर्थन गरेर गठबन्धनका अरू पार्टीहरूलाई आफ्नो पक्षमा पारेको अवस्थामा दुई वर्षपछि सरकार परिवर्तनको सम्भावना रहन्छ । त्यसपछि सरकार बन्दा धारा ७६ (३) अनुसार ठूलो दलको हैसियतमा आफ्नो सरकार बन्ने सम्भावना देखेको छ । संविधानको धारा १०० मा ‘प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको मत प्रस्ताव पेस गर्न सकिनेछैन’ भन्ने व्यवस्था छ । विश्वासको मत नपाएको अवस्थाबाहेक ‘सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएको अवस्थामा’ भन्ने व्यवस्थाका कारणले कांग्रेसमा आलोचनात्मक समर्थनको औचित्यमाथि समेत छलफल भइरहेको छ ।
सभापति देउवाले संसद्मा सम्बोधनका क्रममा पनि कांग्रेसको भूमिका के रहने भन्ने स्पष्ट पारेका थिएनन् । उनले लिखित सम्बोधनका क्रममा कतै पनि कांग्रेसको प्रतिपक्षको भूमिकामा रहने उल्लेख गरेका थिएनन् । ‘हामी नेपालको संविधानको रक्षा र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्ने हाम्रो लक्ष्यमा अविचलित रूपले लागिरहनेछौँ । देश र जनताको बृहत्तर हितमा काम गर्नेछौँ,’ देउवाको सम्बोधनमा छ, ‘यो प्रतिनिधिसभामा नेपाली कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ । जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विशेष ध्यान जानेछ ।’
तर, संसद् बैठकपछि प्रतिक्रिया दिने पदाधिकारी र नेताले भने कांग्रेस विश्वासको मत दिने पक्षमा नरहेको दाबी गरे । बैठकपछि महामन्त्री गगन थापाले विश्वासको मतको विपक्षमा नै कांग्रेसले मत हाल्ने तर्क गरे । ‘हामी प्रतिपक्षको भूमिकामा छौँ । सशक्त र प्रभावकारी भूमिका खेल्ने हो । कताकता विश्वासको मतको पनि कुरा आएको सुनिन्छ । तर, विश्वासको मतको खिलापमा हामीले मतदान गर्ने हो,’ उनले भने ।
अर्का सांसद प्रदीप पौडेलले कांग्रेस प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘विश्वासको मतबारे संस्थागत निर्णय आउँछ, तर प्रतिपक्षी भूमिका हाम्रा लागि अवसर हो, यसको उपयोग गर्न सक्नुपर्छ,’ उनले भने, ‘यो व्यवस्थामा सहमतीय सरकार भन्ने हुँदैन, कि सत्तापक्ष कि प्रतिपक्ष हुन्छ । यो व्यवस्थाको सौन्दर्यता कायम गर्नुपर्छ । सरकारलाई खबरदारी गर्न पनि प्रतिपक्ष चाहिन्छ ।’
मत दिने–नदिने दुईथरी धारणा छ, गम्भीर छलफल गरेर आज निर्णय गर्छौँ : रामचन्द्र पौडेल, वरिष्ठ नेता, कांग्रेस

पार्टीमा दुवैथरी मत छ । एकथरी सशक्त प्रतिपक्षको रूपमा जानुपर्छ भन्ने छ, अर्कोथरी समर्थन गरेर जानुपर्छ भन्ने छ । यसबारे सभापति र पदाधिकारीको दृष्टिकोण कस्तो रहन्छ, संसद्हरूको कस्तो दृष्टिकोण रहन्छ, संसदीय दल बैठकमा गम्भीर छलफल गरेर टुंगोमा पुग्नेछौँ ।
आज बिहान ९ बजे दलको बैठक
प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मतका लागि प्रस्ताव लैजानुभन्दा दुई घन्टाअगाडि कांग्रेस सभापति देउवाले पार्टी संसदीय दलको बैठक आह्वान गरेका छन् । कांग्रेस संसदीय दलको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्दै छ । संसद्मा विश्वासको मतको प्रस्ताव बिहान ११ बजे टेबुल हुँदै छ ।